दैनिक उपभोग्य वस्तुमा आजदेखि छुट - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

दैनिक उपभोग्य वस्तुमा आजदेखि छुट



काठमाडौं, असोज १ । सरकारले चिनी, नुनसहितका दैनिक उपभोग्य वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित २६ जिल्लामा उपभोक्तालाई छुट दिने गरी पसल सञ्चालनमा ल्याउने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए ।

‘उपत्यकाका १३ स्थान र उपत्यका बाहिरका २३ स्थानमा उपभोक्ताले सहुलित पाउने छन्,’ प्रवक्ता रेग्मीले भने, ‘७८ प्रकारका खाद्यान्नमा छुट दिने व्यवस्था मिलाएका छौं ।’
चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २, चामलमा १० रुपैयाँ छुट दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । चिनीमा साल्ट ट्रेडिङ, चामलमा खाद्य संस्थानमार्फत छुटको व्यवस्था मिलाइएको छ ।

शनिबारदेखि कात्तिक २१ सम्म उपत्यकाको रामसाहपथ, थापाथली, नक्खु, जावालाखेल, बल्खु, टेकु, कोटेश्वर, भक्तपुर सूर्यविनायक, बूढानीलकण्ठ नारायणस्थान, बौद्ध, सतुङ्गल, नयाँ बानेश्वर, कालिमाटीमा साल्ट ट्रेडिङले सुपथ मूल्य पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाले बताए ।

‘हाम्रा सुपथ मूल्य पसलमा एक व्यक्तिले ३ किलो नुन र ६ किलोसम्म चिनी पाउनेछन्,’ उनले भने । त्यसैगरी, काभ्रेपलाञ्चोक, झापा, विराटनगर, सुनसरी, सिरहा, मकवानपुर, चितवन, कास्की, बागलुङ, रुपन्देही, कैलाली, कपिलवस्तु, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, डोटी, डडेलधुरा, कन्चनपुर, नुवाकोटमा पनि सूपथ मूल्य सञ्चालन गर्ने निर्णय गरेको छ ।

नागरिक दैनिकबाट