भारतीय जी न्यूजले भन्यो: नेपालीको भावनाको आदर गर्छौं, हामीबाट त्रुटी भयो
काठमाडौं । पछिल्लो विकसित राजनीतिक घटनाक्रममा विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग जोडेर गलत सामग्री प्रसारण गर्ने जी न्युजले माफी मागेको छ ।
प्रधानमन्त्री ओली र चिनियाँ राजदूतको विषयमा प्रसारित सामग्रीप्रति नेपाल सरकार र नेपाल जनताले चर्को विरोध र आलोचना गरेपछि जी न्युजले शुक्रबार एक भिडियामार्फत माफी मागेको छ ।
जी न्युले माफि मागेको भिडियोमा भनिएको छ, “भारत र नेपालको सम्बन्ध सदैव मैत्रीपूर्ण रहेको छ । यी देशको सम्बन्ध सांस्कृतिक, राजनैतिक तथा ऐतिहासिक रुपमा बलियो छ । हामी नेपाली जनताको भावनाको आदर गर्छौं । हाम्रो च्यानलमा त्रुटीले प्रसारित कार्यक्रम ओलीकी इस्कियाबाट नेपाली जनताको भावनामा चोट पुगेको भए खेद व्यक्त गर्छौं ।”
यसअघि जी न्युजका प्रधान सम्पादक सुधिर चौधरीले पनि यसअघि राखेको ट्विट गर्दै आफ्नो पुरानो ट्विटमा खेद प्रकट गरिएका कारण उक्त ट्विट हटाएको जानकारी दिँदै अर्को ट्विट गरेका थिए ।
नेपालबारे गलत र भ्रामक सामग्री प्रसारण गरेको भन्दै बिहीबार नेपाली केबल अपरेटरहरुले केही भारतीय च्यानलहरु प्रशारणमा रोक लगाएका थिए । शुक्रबार नै नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारण रोक्ने च्यानल वितरकहरुलाई सरकारले समेत धन्यवाद दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) लाई धन्यवाद दिएको हो।