ऋण नतिरेपछि युवा स्वरोजगार कोषको रकम डुब्दै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ऋण नतिरेपछि युवा स्वरोजगार कोषको रकम डुब्दै



रुकुम । युवा स्वरोजगार कोष अन्तर्गत सरकारले गरेको लगानी डुब्ने खतरा देखिएको छ । जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमले उक्त कोष अन्तर्गत सहुलियत ब्याजदरमा लगानी भएको ६७ लाख रुपैयाँ ऋण असुल हुन नसकेको कृषि विकास बैंक रुकुम पश्चिमले जानकारी दिएको छ । २०६९ सालमा ६३ जना युवालाई स्वरोजगार बनाउने उद्देश्यले करीब १ करोड रुपैयाँ लगानी गरिएको थियो ।

स्वरोजगार कोषबाट रकम लिएकामध्ये ३३ जनाबाट साँवा ३९ लाख रुपैयाँ र ब्याज २८ लाख रुपैयाँ गरी ६७ लाख रुपैयाँ असुल हुन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रकाश कुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘२०७४ सालभित्र असुली भैसक्नुपर्ने रकम अझैपनि असुल भएको छैन ।’ साना किसान र मजदुरहरुले लिएको रकम बुझाए पनि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले लिएको रकम फिर्ता नगरेका कार्यालय प्रमुख श्रेष्ठले बताए ।

सरकारले बिना धितो रकम वितरण गरेकाले पनि असुली गर्न समस्या भएको बैंकको ठहर छ । पहुँच र प्रभावका कारण ऋण लिने तर व्यवसाय नगरेका कारण समस्या भएको हो । युवा स्वरोजगार कोषको रकम दुरुपयोग भएको निष्कर्ष निकालेको कृषि विकास बैंकले पछिल्लो समय बिना धितो ऋण प्रवाह गर्ने कार्यक्रम भए पनि रुकुममा लगानी गर्न डराएको बताएको छ ।

१७ जनाको जग्गा रोक्का
जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमले युवा स्वरोजगार अन्तर्गतको ऋण लिने र नतिर्ने १७ जना कर्जावालाको जग्गा रोक्का गरेको छ । लामो समयसम्म पनि ऋण असुल हुन नसकेपछि जग्गा रोक्का गरिएको हो ।

जिल्ला मालपोत कार्यालयको सहकार्यमा ऋणिको जग्गा रोक्का गरिएको कृषि विकास बैंकका शाखा प्रमुख प्रकाश कुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पटक पटक ताकेता गर्दा पनि ऋण असुल नभएपछि १७ जना कर्जाग्राहीको जग्गा रोक्का गरिएको हो ।’ बाँकी १६ जनाको पनि छानबिन भैरहेको छ । उनीहरुको जग्गा रोक्का गरी रकम असुल गरिने कृषि विकास बैंकले जानकारी दिएको छ ।