अब युवाले दुर्इ लाख होइन पाँच लाख पाउने - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

अब युवाले दुर्इ लाख होइन पाँच लाख पाउने



काठमाडौं । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ ।

यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए ।

कोषले युवालाई उद्यम, कृषिलगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि सहुलितय दर (पाँच प्रतिशत ब्याज)मा ऋण दिने गरेको छ ।

पहिले रु दुई लाख दिँदा बिना धितो दिने गरेकामा अहिले भने रु पाँच लाखसम्मको ऋण धितोमा दिने भएको हो ।

‘‘आजभन्दा १० वर्षअघि दिइने रकमले अहिलेको परिस्थितिमा व्यवसाय गर्न कठिन भएको छ”, उनले भने “त्यसैले महँगीअनुसार रु दुई लाखदेखि रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने छौँ ।”

कोषले गरिबी, पिछडिएका, सीमान्तकृत, कृषक मजदूरलगायतलाई स्वरोजगार बनाउनका लागि ऋण प्रवाह गर्ने उनले बताए ।

विसं २०६५ मा कोषले युवालाई व्यवसाय सञ्चालन गर्नका लागि रु दुई लाख सहुलियत दरमा ब्याज दिने गरेको थियो ।

यस्तै कोषले २० जना युवाको समूहलाई रु एक करोडसम्म सहुलियत दरमा ऋण प्रवाह गर्ने भएको छ ।

एकजनालाई रु पाँच लाखको दरले रु एक करोडसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा दंगालले जानकारी दिए । कुनै ठाउँका युवा समूहलाई उद्यम सञ्चालन गर्नका लागि रु एक करोडसम्म दिने उनले बताए । कोषले सहकारी र बैंकमार्फत उद्यम तथा व्यवसाय सञ्चालन गर्नका लागि ऋण प्रवाह गरिरहेको छ । रासस