के युवालाई आफ्नै देशमा बस्ने अधिकार छैन र ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

के युवालाई आफ्नै देशमा बस्ने अधिकार छैन र ?



केशव भट्टराई/धनगढी

सुदूरपश्चिम प्रदेशको मुख्य सीमा नाकाको रूपमा रहेको त्रिनगर–गौरीफण्टा सिमाना नाका वाट दैनिक कति नेपाली भारत तिर जान्छन् होला ? अनुमान लगाउनै गाह्रो छ, बिहान ८ बजे देखी साँझ ८ बजेसम्म पनि नेपालबाट भारत पस्ने नेपालीको लर्को देख्न सकिन्छ । के यही हो नेपालको विकास, दैनिक सयौँ युवा त्रिनगर–गौरीफण्टा नाका वाट मात्रै रोजगारीका लागी छिर्ने गर्छन् । के ती युवाले नेपालमा केही सक्दैनन् र ? किन यसरी युवाहरू भरत गएका छन् कसैले यस विषयमा सोचेको छ ? मलाइ त लाग्छ पक्कै छैन । त्रिनगर–गौरीफण्टा नाका वाट मात्रै सयौँ युवा विदेशीदा नेपालभर रहेका खुल्ला तथा बन्द २ हजार नाकाबाट कति नेपाली भारत गएका छन् ।

भारत मात्रै होइन भारत बाहेक तेस्रो मुलुकमा कति नेपाली छन् ? सरकार सँग यसको तथ्याङ्क पनि छ की छैन । देश शान्ति प्रक्रियामा पुगेर अव त केही हुन्छ की भन्यो उपलब्धि शून्य छ। लाखौँ युवाहरूका लागी आफ्नै देशमा रोजगारीको अवसर मिल्छ की भन्यो अवस्था झन् दयनिय बन्दै छ । मेरो हजुरबुबा, बुबाले नेपालमै बसेर पनि हामीलाई पाल्नुभएको थियो आज त्यै परिवार पाल्न नसकेर हामी विदेश जाँदै छौ । कति दुःख कष्ट छन् होला त विदेशमा आफ्नै देशमा त कसैले हामीले भनेको सुन्दैनन्, मान्दैनन् पराई भूमिमा हाम्रा युवाहरूको हालत कस्तो होला म कल्पना गर्न पनि सक्दिन किनकि मैले पनि केही वर्ष भारतीय भूमिमा बिताएको छु । त्यहाँको दुःख मलाई थाहा छ ।

हो म त्यही कर्मठ नेपाली हु, नेपालमै केही गरेर देखाउँछु भनेर भारतको नोयडामा साढे २ वर्षको नोकरी छाडेर नेपाल छिरेको……. आज ५ वर्ष पुरा भयो । ५ वर्ष देखी अव नेपालमा केही गर्नुपर्छ भन्दै दौडधुप गरिरहेको त्यही मान्छे के जसको दिमागमा राष्ट्रियताको भूत चढेको छ ।

नेपालमा आएर केही दिन त म बेरोजगार बने तर देशले मलाई के दियो भन्दा पनि मैले देशलाई के दिए भन्ने सोचका साथ “पत्रकारिता” क्षेत्रमा लागे । पत्रकारिताको माध्यमबाट मैले धेरै माया, ममता र सबैको हाइहाइ त पाए केही समाचारको प्रभावले केही काम बने होलन, सर्वप्रथम मलाई पत्रकारिता क्षेत्रमा कलम चलाउन सिकाउने आदरणीय गुरु एसटिएस टेलिभिजनको समाचार प्रमुख लोकेन्द्र विष्ट सरलाई हृदय देखी नमन गर्न चाहन्छु, त्यस्तै नागरिक आवाज साप्ताहिक पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक आदरणीय दाजु दीपेन्द्र बस्नेत सँगै हाम्रै साझा पत्रिका साप्ताहिकको सम्पूर्ण टिमका सदस्य र रेडियो डेली मेल तथा कैलाली बहुमुखी क्याम्पसवाट सञ्चालित रेडियो केएमसीका सम्पूर्ण समदस्यहरुलाई मैले सम्झनै पर्छ ।

पत्रकारिता गर्दै गर्दा सीमा क्षेत्रमा भएका धेरै घटनाहरूमा मैले प्रत्यक्ष सहभागी जनाउने मौका पाए, कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नंम्वर ४ स्थित तत्कालीन आनन्द बजारमा भएको सीमा विवादको घटना, वेलौरीको सडकघाटमा भएको सीमा विवादको घटना, पुनर्वासकै वडा नंम्वर ९ विचफाँटामा भएको सीमा विवादको घटना, ती त केही ठुला घटनाहरू थिए सानातिना कति घटनामा सहभागी भए अत्तोपत्तो छैन ।
आजसम्म पत्रकारितालाई डोराएर हिडीरहेको म त्यही दिमागमा राष्ट्रियताको भूत चढेको मान्छे । सोच्छु सबै विकास विकास भन्छन् होइन यो विकास भनेको के हो ? खै कहाँ भइरहेको छ विकास ? कसले गरेको छ विकास ? दैनिक लाखौँ युवा विदेशीनु विकास हो, अर्काको देशमा नोकर बनेर काम गर्नु विकास हो यस्तै यस्तै प्रश्नले मलाई सधैँ रुवाएको छ ।

एकचोटी सोच्छु आखिर नेपालमा युवाहरूको यस्तो हालत कसले बनायो? दोषी को छ ? किन विदेशीने युवालाई नेपालमै केही गर भन्न नसकेको ? यो देशको अर्थतन्त्र नेपालीले विदेशबाट पठाएको रेमिट्यान्सले मात्रै धानेको छ र ? मेरो मनमा अनेकौँ सवालहरू खेल्छन् । दैनिक विदेशमा केही नेपालीहरू घरपरिवारको खुसी बुन्दाबुन्दै सधैका लागी निदाउँछन् । के उनीहरूको अधिकार छैन र आफ्नै देशमा मर्ने, मर्न पनि अर्को नोकर भएर मर्नुपर्ने…. नालायक सरकारका कारण वर्षौँ देखी युवाहरू भरत लगायत विदेशका विभिन्न देशमा मरी रहेका छन् । नेपाललाई सिङ्गापुर, बेलायत अष्टेलीया वनाउछु भन्नु भन्दा पनि पहिला हामी सक्षम नेपाली, आफ्नै देशमा केही गर्न सक्ने, अर्काको देशमा गएर नोकर बन्नु नपर्ने कहिले वाट यो अभियान सुरु गर्ने ….? हामी जस्ता लाखौँ युवाले सरकालाई सोध्नुपर्ने प्रश्न हो यो ।

दिनभर आफूसँग डुलायौँ साँझ भट्टी कहाँ छ त्यता लग्यो अनि १ बोतल रक्सीमा हाम्रो दिनभरको मेहनत तौल्ने नेताहरूलाई हामीले साथ दिएका छौ , यो सोच कहिले परिवर्तन आउँछ…. चुनावको समयमा लाखौँ रुपैयाँ खर्च गराएर हामी जिताउँछौँ आनी त्यो लाखौँ पैसा÷रुपैया लुट्ने, उठाउने भाँडो वनाउदै विकास निर्माण नै नगरी, देशमा रोजगारीका अवसर सिर्जना नै नगरी हामीलाई माग्ने बनाएर विदेश लखेट्छन् यीनै हामीले जिताएर सत्तामा पठाएका भनौदाहरुले, हे युवा सोच एकचोटी लहलहैमा होइन आफ्नो जिन्दगीका लागी सोच, त्यो घर परिवारका लागी सोच, किन हाम्रो अधिकार होइन र नेपालमै बस्न पाउने , केही गर्न पाउन अनि समृद्ध नेपाली बन्ने हो आजै वाट सोच बदल्न आवश्यक छ । कसैको भूमिमा गएर दैनिक ज्याजती सहेर बस्न के हाम्रो आदर्शले दिन्छ एक पटक सोच्न आवश्यक छ ।