हाम्रो युद्ध जारी छ: प्रचण्ड - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

हाम्रो युद्ध जारी छ: प्रचण्ड



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको बाटो रोजेर लोकतन्त्र र संविधान नै विसर्जन गर्न खोजेको आरोप लगाएका छन्।

जनयुद्धमा हस्ताक्षर पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘धेरै लामो कसरतपछि पार्टी एकता गरेका थियौँ, तर केपीजीले फुटको बाटो रोजेर लोकतन्त्र र संविधान विसर्जन गर्न खोज्नुभयो।’

उनले एकताको झण्डा बोकेर आफूहरू आधिकारिक रूपमा अगाडि बढ्न खोज्दा केही व्यक्तिले विभाजन गर्न खोजिरहेका बताए। जनयुद्धको उपलब्धिलाई अपहरण गर्न खोजेकाले अहिले शान्तिपूर्ण युद्ध लडिरहेको पनि उनले दाबी गरे।

‘अहिले हामी ७० वर्षको संघर्षपछि प्राप्त उपलब्धि रक्षा गर्न विभिन्न कोणमा लडाइँ लडिरहेका छौँ, त्यो युद्ध हामीले नै जित्नुपर्छ, जित्छौँ’ उनले भने।

उनले संसद विघटन विरुद्धको मुद्धा सर्वोच्च अदालतमा भएको बताउँदै त्यहाँबाट सहि फैसला आउने विश्वास पनि व्यक्त गरे।​

‘हामी प्रतिगमन विरुद्धको युद्धमा छौँ। तर, पहिले रक्तपातयुक्त युद्ध गरेका थियौँ। अहिलेको पनि युद्ध नै हो। तर, रक्तपात र हिंसात्मक छैन,’ उनले थपे, ‘उपलब्धिलाई अपहरण गर्न खोजेपछि हामी नयाँ प्रकारको युद्धमै छौँ।’

क्रान्ति र युद्धबाट ल्याएको प्राप्ति जोगाउन लागिराख्ने समेत उनले बताए। जनयुद्धले नेपाली राजनीतिक परिवर्तनमा मुख्य भूमिका खेलेको दाबी पनि प्रचण्डले गरे।