६ बलमा ६ वटा छक्का, युवराज सिंह र भारतीय क्रिकेट - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

६ बलमा ६ वटा छक्का, युवराज सिंह र भारतीय क्रिकेट



भारतीय क्रिकेट खेलाडी युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्।

सन् २००७ को टी-ट्वान्टी विश्वकप र सन् २०११ को विश्वकपमा नायक साबित भएका युवराज सिंहले मुम्बईस्थित साउथ होटलमा आयोजित एउटा पत्रकार सम्मेलनमार्फत्‌ सोमवार सन्न्यासको घोषणा गरेका हुन्।

३७ वर्षीय युवराज सिंहले भारतका लागि आफ्नो अन्तिम एकदिवसीय खेल सन् २०१७ को वेस्ट इण्डिजविरुद्ध खेलेका थिए।

युवराज सिंहले आफ्नो अन्तिम टी-ट्वान्टी खेल सन् २०१७ को फेब्रुअरी मा इङ्ग्ल्याण्डविरुद्ध खेले भने अन्तिम टेस्ट खेल सन् २०१२ मा इङ्ग्ल्याण्डविरुद्ध खेले।

विगत दुई वर्षमा युवराज सिंहले भारतका लागि कुनै पनि खेल खेलेका छैनन्।

स्मरणीय साझेदारी
सन्न्यासको घोषणा गर्दै युवराज सिंहले क्रिकेट मैदानसँग जोडिएका आफ्ना अनुभवहरू सुनाए। सो क्रममा उनले तीनवटा खेलबारे चर्चा गरे।

अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्ना तीनवटा उत्कृष्ट साझेदारीमा उनले सन् २०११ मा विश्वकप जितेको, सन् २००७ को टी-ट्वान्टी विश्वकपमा इङ्ग्ल्याण्डविरुद्ध एक ओभरमा बनाएको ६ वटा छक्का र सन् २००४ मा लाहोरमा बनाएको पहिलो शतकलाई उल्लेख गरे।

सन्न्यासको घोषणा गर्ने क्रममा भावुक हुँदै उनले भने, “मैले बाल्यकालदेखि नै आफ्ना बुवाको पदचिह्नलाई अनुशरण गर्दै देशका लागि खेल्ने उनको सपनालाई पछ्याएँ।”

उनले थपे, “मेरो लागि सन् २०११ को विश्वकप जित्नु र म्यान अफ द सिरिज पाउनु सपनाजस्तै थियो। त्यसपछि क्यान्सर भएको थाहा भएपछि मलाई छाङ्गाबाट खसेजस्तो भयो।”

उनले भने, “एउटा क्रिकेट खेलाडीको रूपमा यात्रा शुरू गर्ने बेला भारतका लागि खेल्नेछु भन्ने मैले सोचेको थिइनँ। लाहोरमा पहिलो शतक बनाउनु र टी-ट्वान्टीमा ६ बलमा ६ वटा छक्का हान्नु स्मरणीय रह्यो।”

सबैभन्दा खराब प्रदर्शन
यस क्रममा युवराजले सन् २०१४ को टी-ट्वान्टी विश्वकप फाइनलमा श्रीलङ्काविरुद्ध २१ बलमा ११ रन बनाउनु आफ्नो सबैभन्दा खराब प्रदर्शन भएको बताए।

उनले भने, “सन् २०१४ मा टी-ट्वान्टी फाइनल मेरो जीवनको सबैभन्दा खराब खेल रह्यो। त्यतिबेला मलाई लाग्यो मेरो खेलजीवन समाप्त भयो।”

“त्यसको तीन वर्षपछि एकदिवसीय क्रिकेटमा पुनः आगमन गरेपछि मैले आफूमाथि विश्वास गर्न छाडिनँ।”

सन् २०१७ मा युवराज सिंह क्रिकेट मैदानमा तीन वर्षपछि पुनः फर्किए र खेलजीवनको सबैभन्दा धेरै १५० रन बनाए।

उनले भने, “डेढ वर्षपछि म टी-ट्वान्टी खेलमा फर्किएँ। त्यसपछि अष्ट्रेलियाविरुद्धको खेलमा अन्तिम ओभरमा छक्का हानेँ। तीन वर्षपछि म एकदिवसीय खेलमा फर्किएँ। सन् २०१७ मा मैले १५० रन बनाएँ जुन मेरो लागि सबैभन्दा धेरै एकदिवसीय स्कोर थियो।”

पत्रकार सम्मेलनमा युवराज सिंहले आफ्ना आमाबुवा र श्रीमतीका साथै क्रिकेटसँग जोडिएका अन्य कैयौँलाई धन्यवाद दिए।

उनले भने, “मैले सौरभ गांगुलीको कप्तानीमा खेल्न शुरू गरेँ। त्यसपछि राहुल द्रविड, जवगल श्रीनाथजस्ता खेलाडीसँग मैले खेलेँ। खेलजीवनका क्रममा आशिष नेहरा र हरभजनजस्ता साथी भेटिए।”

“मैले सधैँ आफूमाथि विश्वास गरेँ। दुनियाँले के भन्छ भन्ने कुराले अर्थ राख्दैन।”

युवराजले थपे, “महेन्द्र सिंह धोनीजस्ता कप्तान र ग्यारी कर्स्टनजस्ता प्रशिक्षकको निर्देशनमा खेल्ने मौका मलाई प्राप्त भयो।”

अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान

सन्न्यास लिने निर्णयबारे जिज्ञासा राख्दा उनले भने, “सफलता पनि पाइरहेको थिइनँ र मौका पनि। खेलजीवन शुरू भएको १९ वर्ष भइसकेको छ। टी-ट्वान्टी जितेर सन्न्यास लिने भनेर सोचेको थिएँ, तर सोचेको सधैँ कहाँ हुन्छ र!”

एकदिवसीय क्रिकेटमा युवराज सिंहले ३०४ वटा खेलमा १४ शतक र ५२ अर्धशतक गरी ८,७०१ रन बनाए भने १११ विकेट लिए।

टी-ट्वान्टी क्रिकेटमा युवराज सिंहले भारतका लागि ५८ वटा खेलमा आठवटा अर्धशतकसहित १,१७७ रन बनाए।

युवराज सिंहलाई ४० वटा टेस्ट खेल खेल्ने मौका मिल्यो र त्यसमा उनले १,९०० रन बनाए। बीबीसी