गभर्नरलाई ‘सिस्नो पानी’ लगाउँदा योगेशलाई किन पोल्यो ?
काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक संजालमा गरेको एउटा पोस्टमा प्रयोगकर्ताहरूले प्रतिप्रश्न गरेका छन् । भट्टराईले नेपाल राष्ट्र बैंकका गभर्नरलाई सिस्नो पानी लगाएको बताउँदै अर्थमन्त्री जनार्दन शर्माले आफ्नो नालायकी प्रदर्शन गरेको बताएपछि उनीहरूले प्रतिप्रश्न गरेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा आलोचित हुन थालेका भट्टराईले राष्ट्र बैंकका गभर्नरमाथि सिस्नु पानी लगाएको भन्दै टिप्पणी गरेका छन् । टिप्पणीसँगै उनले यो कहाँको सिद्धान्त हो भन्दै प्रश्न समेत गरेका छन् । उनले गरेको प्रश्नमा धेरैजसो प्रयोगकर्ताले गभर्नरलाई सिस्नो पानी लगाउँदा तपाईँलाई किन पोलेको भन्दै प्रतिप्रश्न गरेका छन् ।
सचिव भट्टराईलाई कतिपयले बतास फाउन्डेसनसँग जोडेर समेत प्रश्न सोधेका छन् । उनी पर्यटनमन्त्री हुँदा बतास फाउन्डेसनलाई नारायणहिटी कौडीको भाउमा दिएको तथ्य खुलेपछि उनी आलोचित बन्दै आएका छन् । त्यसयता सामाजिक सञ्जालदेखि सार्वजनिक रूपमा पनि उनी आलोचकको निशानामा परेका छन् ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि सामाजिक संजालमा टिप्पणी गरेका भट्टराईलाई सिस्नो पानीले पोलेको आरोप लागेको हो ।