कांग्रेस हिम्मत नभएको पार्टी हो: योगेश भट्टराई - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

कांग्रेस हिम्मत नभएको पार्टी हो: योगेश भट्टराई



सल्यान : पूर्व पर्यटनमन्त्री तथा नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टराईले कांग्रेस हिम्मत नभएको पार्टी भएको बताएका छन्।

उनले एमालेसँग चुनाव जित्न सक्ने हिम्मत भए एक्लै एक्लै लड्न पनि चुनौती दिएका छन्। शनिबार बिहान सल्यानको सल्लीबजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सचिव भट्टराईले उक्त चुनौती दिएका हुन्।

उनले भने, ‘एमालेलाई हराउन विभिन्न गठबन्धन गरेर पछार्ने भनेका छन्, कांग्रेसलाई खुला चुनौती छ, एक्लाएक्लै लडौँ कसले जित्छ किन अरूलाई बोकेर आउनु हुन्छ।’

भट्टराईले आगामी चुनावमा एमालेलाई जिताउन दृढ एकता भएर कार्यकर्तालाई लाग्न समेत अनुरोध गरेका छन। एमाले बाहेक अरूले देशको नेतृत्व गर्न नसक्ने र देशमा समृद्धि समेत नहुने ठोकुवा गरे।

माओवादी कांग्रेससँग लागेर १० वर्ष जनयुद्धको उपलब्धि नहुने बताउँदै उनले त्यसका लागि एमाले लगायत कम्युनिस्ट एकता गरेर मात्र जनयुद्धका उपलब्धिको संरक्षण गर्न सकिने बताए।

यसैगरी उनले एमसिसीका विषयमा खासै विवाद गर्न आवश्यक नभएको बताएका छन्। संसद्‌बाट पास भइसकेकाले मुलुकको स्वतन्त्रतालाई तलमाथि हुन नदिने, जनताको पक्षमा काम गर्ने शर्तमा कार्यान्वयनमा ल्याउनु पर्ने बताए।

संसद्‌मा एमसिसी प्रस्तुत गर्दा नेकपा एमाले पक्ष विपक्ष कुनैमा नभएको बताउँदै गलत तरिकाले काम गरेमा अमेरिकालाई तिम्रो पैसा चाहिदैन लैजाऊ भन्ने हिम्मत र एमसिसी गलत भए सच्याउन सकिने वा हटाउन लगाउने तागत एमालेसँग मात्र भएको बताए। उनले त्यसको कार्यान्वयन गरेर सडक, विद्युत् लगायतको प्रायोजन अगाडि बढाउन समेत आग्रह गरेका छन्।