विवेक प्रयोग नगरे एमाले दुर्घटना हुन्छ: योगेश भट्टराई
काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता योगेश कुमार भट्टराईले विवेक प्रयोग नगरेको खण्डमा नेकपा एमाले दुर्घटनामा पर्ने निश्चित भएको बताएका छन् । उनले नेकपा एमाले इतिहासकै कठिन मोडमा रहेको समेत जनाएका छन् ।
एमाले विभाजन रोक्न सक्रिय भूमिका खेलिरहेका नेता भट्टराईकै नेपाल कम्युनिस्ट पार्टीको ७२ औ स्थापना दिवसका अवसरमा बिहीबार शुभकामना दिँदै एमाले दुर्घटना नजिक रहेको संकेत गरेका छन् ।
नेता भट्टराईकै पहलमा बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको थियो। वार्ताले नेतादेखि कार्यकर्तामा सकारात्मक संचार गरिरहेका बेला उनले भने विवेक प्रयोग गर्न नसके दुर्घटना हुने बताएका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलन लगातार एकता र विभाजनको श्रृखंला भोग्दै आएको भन्दै उनले लेखेका छन्, ‘एकता र विभाजनको लामो श्रृङ्खला पार गरेको नेपालको कम्युनिस्ट आन्दोलन नेपाली समाजको लोकतान्त्रिक रुपान्तरणको अभिन्न पक्ष बन्न पुगेको छ’, उनले भनेका छन्, ‘यो आन्दोलनले आजसम्म भोगेका कठिन मोडहहरुमध्ये आज सबैभन्दा कठिन अवस्थामा रहेको छ।’
भट्टराईले एमालेको एकता जोगाउन पनि सबैलाई अपिल गरेका छन्। ‘नेकपा एमालेको एकता जोगाउँदै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न कम्युनिस्ट आन्दोलनका सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु गम्भीर बनौँ र विवेकसम्मत ढंगले अघि बढौँ’, उनले भनेका छन्।
त्यसक्रममा भट्टराईले संस्थापक नेताहरु पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारानविलास जोशी र मोतीदेवी श्रेष्ठ लगायतलाई पनि सम्झिएका छन्।