शत्रु जस्तै दुई पार्टी त एकतामा आएका छौँ, विभाग त मिलिहाल्छ : योगेश

बाँके- नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं सांसद योगेश भट्टराईले स्कुल विभागको विवादले पार्टी एकता नभड्किने बताएका छन् । नेपालगन्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्कुल विभागको विषयमा बाहिर केही बेमेलजस्तो देखिएपनि सहमति हुने बताए ।
‘शत्रु जस्तै व्यवहार गर्ने दुई पार्टी त एकतामा आएका छौँ भने विभागमा नमिल्ने कुरै छैन’, उनले भने, ‘स्कुल विभागको नाममा पार्टी एकतामा शंका गर्नु चियाको कपमा तुफान निकाल्न खोजेजस्तै हो।’
पार्टीको परम्परागत संस्कार हेर्दा स्कुल विभागमा अलि पढेलेखेका पाका नेताले जिम्मेवारी लिने परिपाटी छ। यस अर्थले यस्तै व्यक्तिलाई जिम्मेवारी दिने चर्चा भएको उनले बताए। उनका अनुसार, नाम चलेका नेता घनश्याम भुसाल, राम कार्की, वेदराम भुसाललगायत छन् भने वरिष्ठ नेता झलनाथ खनालले जिम्मेवारी लिने कि भन्ने चर्चा पनि छ। यद्यपि पार्टीमा भएका ३२ वटै विभाग आफैंमा महत्वपूर्ण रहेको उनले बताए।
उनले पार्टीका संख्यात्मक हिसाबले शक्ति कहाँ कति खर्चने? विषयमा धारणा बनाएको बताए। ६० प्रतिशत भुगोल कमिटीमा, २० प्रतिशत विभाग र केन्द्रीय काममा र २० प्रतिशत मोर्चा संगठनहरुमा हुने छ। यस हिसाबले विभाग र जनसंगठनको कार्यविभाजन बाँकी रहेको उनले बताए।
अबको एक साताभित्र पार्टीको तलदेखि माथिल्लो निकाय सम्पूर्ण रुपमा एकता सम्पन्न हुने दाबी गरे। विभाग र जनसंगठनको कार्यविभाजनका केही काम बाँकी रहेको भन्दै उनले त्यो पनि छिट्टै टुंगो लाग्ने बताए। सम्पूर्ण पार्टी एकता गरेपछि असोज र कार्तिक २ महिना एकता सुदृढीकरण र जनपरिचालन अभियानमा गाउँगाउँ जाने योजना रहेको उलने सुनाए।
पार्टीले ७ वटै प्रदेश, ७७ वटै जिल्लामा संयुक्त कमिटी बनाइसकेको साथै ४ सय ४१ मध्ये, झन्डै प्रदेश र जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्ज, प्रदेश इन्चार्ज र सहइन्चार्ज गर्दा करिब ३ सय जनाको कार्यविभाजन भइसकको उनले खुलाए। अब डेढ सय जनाको कार्यविभाजन हुन बाँकी रहेको उनले बताए।
संसदीय समितिमार्फत मेडिकल कलेज अनुगमन गर्नेक्रममा नेपालगन्ज आएका योगेशले यहाँका २२ वटा मेडिकल कलेज अनुगमन गरेको बताए। मेडिकल कलेजमा थुप्रै अनियमितता देखिएको उनले सुनाए। यसको विस्तृत रिर्पोट केही दिनपछि तयार हुने भन्दै सरकार र मेडिकल कलेजसँग सहकार्य गरेर शुद्धिकरणबारे विचार हुने उनको भनाइ थियो।

