योगेश भट्टराई भन्छन्: नारायणहिटीमा रेस्टुरेन्ट खोल्न दिने निर्णयमा म संलग्न छैन - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

योगेश भट्टराई भन्छन्: नारायणहिटीमा रेस्टुरेन्ट खोल्न दिने निर्णयमा म संलग्न छैन



काठमाठौं । पूर्व पर्यटनमन्त्रीसमेत रहेका एमाले सचिव योगेश भट्टराईले नारायणहिटी दरबार संग्राहालयमा रेस्टुरेन्ट खोल्न दिनेबारे आफ्नो संलग्नता नरहेको बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत भट्टराईले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माण गर्न दिनेबारे भएका कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको र त्यसबारे जानकारी पनि नभएको बताएका हुन् ।

उनले लेखेका छन्, “नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सविनय अनुरोध गर्दछु, आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहिता नरहने स्वत: स्पष्ट छ । विना कसुर कसैको सार्वजनिक छविमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु । मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु । स्मरण रहोस् म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।”

भट्टराईले आफू आउनुपूर्व नै कफी हाउस बैसकेको भन्दै प्रधानमन्त्री ओलीकै पालामा यो सम्झौता भएको संकेत गरेका छन् । उनले आफूले नगरेको निर्णयको आफू जवाफदेही नभएको समेत बताएका छन् ।