वायुसेवा निगमलाई भट्टराईको यस्तो निर्देशन ! - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

वायुसेवा निगमलाई भट्टराईको यस्तो निर्देशन !



काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमलाई लगानीको प्रतिफल आउने काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री भट्टराईले आफूसँग भएका जहाज पूर्ण उपयोग गरी कमाई बढाउनसमेत निगम कार्यकारी अध्यक्ष मदन खरेललाई निर्देशन दिएका हुन् ।

आज निगमका उच्चपदाधिकारीहरुसँग भएको छलफल कार्यक्रममा मन्त्री भट्टराईले विमान संचालन गर्ने संस्थाले विमान थप्दै जानु आवश्यक हो तर, विमान खरीद प्रक्रियालाई पूर्ण पारदर्शी बनाई बाहिर कुरा काट्ने स्थिति नआउने वातावरण बनाउनु आवश्यक रहेको बताए ।

निगमलाई आन्तरिक समझदारीको जगमा सुदृढ बनाउन र योग्यलाई उचित काम सुम्पेर प्रतिफल लिन पनि सुझाव मन्त्रीले दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले निगमको ऋण र पुँजीमा संतुलन आवश्यक भएको त्यसमा सरकारको सकारात्मक सहयोग रहने तर, स्पष्ट व्यवसायिक योजना प्रस्तुत गर्न समेत निगमलाई निर्देशन दिए ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमले गरेका उपलब्धि बारे प्रकाश पार्दै अघिल्लो वर्ष ६ लाख ५० हजार यात्रु बोकेर अन्तर्राष्ट्रिय उडानमा सवभन्दा बढी यात्रु बोक्न सफलता पाएको बताए ।

८६ प्रतिशत सिट क्षमतामा उडान गरिएको मन्त्री भट्टराईलाई जानकारी दिएका थिए ।