योगेश भट्टराईले पनि माधव नेपाललाई साथ नदिने - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

योगेश भट्टराईले पनि माधव नेपाललाई साथ नदिने



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि माधव नेपाललाई साथ् नदिने भएका छन् । उनले नेता नेपालको निर्णयको विरोध गर्दै दुई नेताहरूले सम्झौता गर्नुपर्ने बताएका छन् ।

पार्टी विभाजन गर्ने अन्तिम तयारीमा रहेका नेपाललाई आफ्नै समुहका धेरै नेताहरूले छोडिसकेका छन् भने केहि प्रभावशाली नेताहरूले हतारमा पार्टी फुटाउने निर्णय नगर्न आग्रह गरिसकेका छन् । उनीहरूले त्यस्तो निर्णय गरेको खण्डमा आफूहरूले साथ नदिने बताएका छन् ।

नेता नेपालकै आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि योगेशले विरोध गरेका छन् । उनले विनाशर्त अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि प्रतिक्रिया दिंदै उनले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारीगर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षड्यन्त्र भएको बताएका छन् ।

विगतको फोहोरी राजनीतिक अध्यासबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्‍याउनु नेतृत्वको असफलता भएको भट्टराईले टिप्पणी गरेका छन् । यस्तै पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले केही कदम पछाडि हटेर त्याग गर्नुपर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘आजका दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले यो अध्यादेश बिनाशर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्दछ ।’