प्रधानमन्त्रीज्यु, परिस्थिति बुझेर घर फर्किनुहोस्: योगेश भट्टराई - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

प्रधानमन्त्रीज्यु, परिस्थिति बुझेर घर फर्किनुहोस्: योगेश भट्टराई



काठमाडौं- नेकपा केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नियत खराब भएको बताएका छन् । उनले पोखरामा बिहीबार जनवर्गीय संगठनलाई प्रशिक्षणमा ओलीलाई काम गर्न कसैले पनि अबरोध नगरेको भन्दै उनले गलत नियतले संसद विघटन गरेको जिकिर गरेका छन् ।

नेता भट्टराईले तीन महिनापछि प्रधानमन्त्री ओली एक्लै हुने भविष्यवाणी समेत गरेका छन्। उनले भने, ‘तीन महिनापछि ओलीको साथमा कुनै नेता बस्ने छैनन्, अहिले पदको लोभमा लागेका साथीहरूले केपीको साथ छाडिदिने छन्।’

उनले पूर्वमहान्याधिवक्ताहरु र कानूनका ज्ञाताहरुले संसद विघटन असंवैधानिक हो भनेको प्रसंग झिक्दै संसद पुनःस्थापना भएरै छाड्ने बताउँदै ओलीलाई परिस्थिति बुझेर पुरानै घर फर्कन आग्रह पनि गरे।

उनले भने, ‘ओलीले क्रान्तिमाथि कुठाराघात गरे, अग्रगमनमाथि, संघीय लोकतन्त्रमाथि कुठाराघात गरे, त्यसैले उनी प्रतिक्रान्तिका नायक हुन्, प्रतिगमनकारी हुन्, जसरी पूर्वराजा ज्ञानेन्द्रले जनताको जनादेश खोसेर शासन सत्ता आफ्नो हातमा लिएर गल्ती गरे त्यस्तै गल्ती ओलीले गरेका छन्, पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेको पनि थिएन, प्रधानमन्त्रीको नियत ठिक छैन।’

‘पाँच वर्षको लागि प्रधानमन्त्री बन भनेर कागजमा लेखेर दिएकै थियो, संवैधानिक निकाय, राजदूत, मुख्यसचिव र मन्त्री नियुक्ति आफ्नै खल्तीबाट निकालेर गर्नुभएको थियो’, उनले भने,‘ यदि आफ्नै पार्टीबाट काम गर्न अप्ठेरो भएको भए, अर्को व्यक्ति प्रधानमन्त्रीको रूपमा अगाडि सार्न सकिन्थ्यो त्यसो किन गर्नुभएन?’

प्रधानमन्त्री ओलीले संकटकाल घोषणा गर्न सक्ने आशंका भए पनि सो कदमलाई नेपाली सेना र जनताले साथ नदिने नेता भट्टराईको जिकिर थियो।

‘नेपाली सेना सधैँ सत्ताको पक्षमा हुँदैन, पूर्वराज ज्ञानेन्द्रका साथमा पनि सेना थिए तर गलत कदमको पछि सेना लाग्दैन’, उनले भने, ‘नेपाली सेना जनताको पक्षमा नै हुन्छ।’

उनले संसद् विघटनका विरुद्ध थालिएको शान्तिपूर्ण सडक आन्दोलन र कानूनी लडाइँमा फरक भएको बताए। उनले पार्टीका ४४१ केन्द्रीय सदस्यमध्ये मध्ये ३१५ जना प्रचण्ड–माधव समूहमा रहेकोले पनि आफूहरु आधिकारिक नेकपा भएको जिकिर गरे।