ओलीले श्रद्धाञ्जली दिएपछि योगेश भट्टराईले फर्काए कडा जवाफ
काठमाडौं- प्रधानमन्त्री ओलीले नेताहरूलाई श्रद्धाञ्जली दिएपछि पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले योगेश भट्टराईले कडा जवाफ फर्काएका छन् ।
उनले प्रधानमन्त्री ओलीले जिउँदा नेताहरुमाथि श्रद्धाञ्जली दिएको विषयमा आपत्ति जनाउंदै होस र ठेगान गुमाएको टिप्पणी गरेका छन् ।
सोमबार चितवनमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमाथि श्रद्धाञ्जली दिएर राजनीतिक कुसंस्कार अनुसरण गरेको बताए ।
‘उहाँबारे टिप्पणी गरेर मलाई लज्जित हुनु छैन् । जिउँदै नेताहरुलाई श्रद्धाञ्जली दिनुभयो । के भन्दै हुनुहुन्छ केपी ओली होसमा त हुनुहुन्छ ?, ठेगानमा त हुनुहुन्छ ? सन्तुलनमा त हुनुहुन्छ ? मैले मेरो प्रधानमन्त्रीमा पागलपन छ भनेर भनेको छैन् । तपाई यो खालको अवस्थाबाट फर्किनुस् । अति भयो । तपाई जे शब्द प्रयोग गर्दै हुनुहुन्छ । प्रधानमन्त्री भनेको हेड सर नै हो । कम्युनिष्टहरुले सभ्य समाज बनाउनुपर्छ’, उनले भने ।
उनले प्रधानमन्त्री ओलीले बालुवाटार र सिंहदरबारमा बसेर आतंक नमच्याउन चेतावनी दिएका छन् । ‘प्रधानमन्त्रीज्यू ! सिंहदरबार र बालुवाटारमा बसेर आतंक मच्चाउन छोड्नुस्’, उनले भने ।
उनले संसद विघटन प्रधानमन्त्रीले भनेजस्तो राजनीतिक मुद्दा हो भने अदालतमा प्रवेश गर्न नमिल्ने बताएका छन् । उनले संसद विघटन संवैधानिक मुद्दा हो भने संविधानले प्रधानमन्त्रीलाई यो अधिकार नदिएको स्पष्ट पारे ।
‘प्रधानमन्त्रीले अदालतलाई जवाफ पठाउँदै यो राजनीतिक मुद्दा हो भन्नुभएको छ, हामी पनि भन्छौं यो राजनीतिक मुद्दा हो, अदालत प्रवेश नगरोस् । यदि संवैधानिक मुद्दा हो भने संविधानले प्रधानमन्त्रीलाई यो अधिकार दिएको छैन’, उनले भने ।
प्रधानमन्त्रीले पार्टी फुटाउने अध्यादेश ल्याएर विधिको शासन उल्लंघन गरेको बताएका छन् । उनले कार्यपालिकाले दिनदहाडै व्यस्थापिकामाथि प्रहार गरेको बताएका छन् ।
आइतबार भएको आफु निकट कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभाजित समूहलाई ‘मरेर गएको (सहिद) भए श्रद्धाञ्जली दिन हुन्थ्यो’ भनेका थिए ।
‘तपाईंहरू नहुँदा, तपाईंहरू सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरू सहिद त होइन ! अब तपाईंहरूलाई कार्यक्रमहरूमा स्मरण गर्नुपर्ने पनि आवश्यकता छैन । खालि तपाईंहरूले धुलो उडाउनुहुन्छ त्यसमा हामीले पानी छम्किनुपर्छ । तपाईंहरूले दुर्गन्ध फैलाउनुहुन्छ, त्यहाँ हामीले अलिकति अत्तर छर्किनुपर्छ,’ उनले भने ।