योगेशको भाषणमा विश्वप्रकाशको जवाफ ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

योगेशको भाषणमा विश्वप्रकाशको जवाफ !



काठमाडौं । बुधबार नेपाल कम्युनिष्ट पार्टीका नेता लेखनाथ न्यौपानेको पुस्तक विमोचन कार्यक्रममा कम्युनिस्ट क्रान्तिबारे पनि छलफल भयो । अधिकांश कम्युनिस्ट नेता सहभागी कार्यक्रममा एक वक्ता थिए नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा ।

उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेलतर्फ संकेत गर्दै देशले एक खालको गति लिइसक्दासमेत कम्युनिस्टहरुले क्रान्तिका कुरा गर्न नछाडेको टिप्पणी गरे ।

‘नेपालमा अहिले दुई तिहाइ बहुमतसहितको कम्युनिस्ट सरकार छ । विगतमा पनि पटक पटक कम्युनिस्टले मात्रै सत्ता चलाएको उदाहरण धेरै छन् । तर क्रान्ति अझै बाँकी छ भन्नुहुन्छ’ उनले भने ‘म सोध्न चाहन्छु नेपालमा कम्युनिस्ट क्रान्ति सकियो कि अझै बाँकी छ ?’

शर्मालाई जवाफ दिँदै नेकपा महासचिव पौडेलले यो प्रश्न नै पुरानो भइसकेको बताए । ‘कम्युनिस्ट क्रान्ति पूरा भयो भएन, यस्ता प्रश्नको सान्दर्भिकता छैन’ उनले भने ‘यो पुरानो भइसक्यो ।’

महासचिव पौडेलले नेपालमा मौलिक ढंगले क्रान्तिहरु भएको र मौलिक तरिकाले संविधान जारी गरेको बताए ।

शास्त्र र सूत्रहरुको अध्ययन र समाजको अध्ययन एकसाथ अगाडि नबढाएसम्म केही गर्न नसकिने भन्दै उनले यी दुईको बिना कुनै विषयमा पनि मूर्त जवाफ दिन नसकिने बताए ।

विश्वप्रकाश र योगेशको जुहारी 

कार्यक्रममा नेकपाका नेता योगेश भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलन र देशको भविष्य नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको बताएका थिए । भट्टराईले शिखरबाट नखस्ने गरी नेतृत्व गर्न ओली र प्रचण्डलाई सुझाव दिएका थिए । कांग्रेस प्रवक्ता शर्माले भने भट्टराईको भनाई अर्धसत्यमात्र रहेको बताए ।

‘यहाँ नेकपाका अध्यक्षद्धय केपी ओली र प्रचण्डको हातमा नेपालको भविष्य छ पनि भनियो’ शर्मा भन्छन् ‘यो अर्ध सत्य हो ।’ सत्तामा हुँदा आफ्ना नेताले जे गरे पनि ठीक भनेर समर्थन गर्ने कार्यकर्ताको गलत प्रवृत्ति नेपाली राजनीतिमा रहेको शर्माले बताए ।

‘सत्तामा हुनेले सबै सही नै गर्छन् भन्ने हुँदैन । गलत गर्‍यो भने कम्युनिस्ट कार्यकर्ताले नै खबरदारी गर्नुस् । हामीलाई प्रश्न गर्ने ठाउँदै नदिनुस्’ उनी भन्छन् ‘अन्यथा प्रमुख प्रतिपक्षले आवाज उठाउनु स्वभाविक हो ।’