नारायणहिटी प्रकरण: योगेश भट्टराईको पक्षमा उभिए विष्णु रिजाल
काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल विवादमा तानिएका एमाले सचिव योगेश भट्टराईको पक्षमा उभिएका छन् । उनले नारायणहिटी राजदरबार संग्रहालयको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री योगेश भट्टराईको कुनै दोष नरहेको दाबी गरेका छन् ।
फरक प्रसङ्गमा रिजालले ६ महिनाको बीचमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको काममा सन्तोष गर्ने कुनै ठाउँ नरहेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेता रिजालले भने, “वितेका ६ महिनामा सरकारले खोपलाई नै सबभन्दा ठूलो उपलब्धिका रुपमा चित्रण गरेको छ । एक करोड खोप मौज्दात छ भन्छ तर त्यसको पनि व्यवस्थापन छैन । अहिले हाहाकार छ । ३५ प्रतिशत जनताले पनि पूर्ण खोप नपाएको स्थितिमा सार्वजनिक सेवा लिन खोप कार्ड चाहिने निर्णय कति पूर्वाग्रही छ ? एमालेलाई हटाएर सत्तामा आउनु नै गठबन्धन सरकारको महान् उपलब्धि हो ।”
गठबन्धन सरकारले विदेश नीतिमा पनि खेलवाड गरेको रिजालले बताए । उनले थपे, “सरकारले आफ्ना विषय दृढतापूर्वक उठाउन सकेको छैन । लिम्पियाधुरा, लिपुलेक, कालापानीका विषयमा पनि लत्तो छाडेको छ । बरु भारतले नै वार्ताको माध्यमबाट समाधान गर्न सक्छौं भनेको छ । नेपाल सरकार त सत्ताको मातले लट्ठिएको छ । विदेश नीतिमा यति लाचार सरकार त कुनै पनि देशमा हुँदैन होला । हामीलाई त सरकार छ भन्न पनि लाज हुन्छ ।”
नेपाली भूमि फिर्ताका लागि सरकारले चाल्ने हरेक कदममा एमालेको समर्थन रहने रिजालले बताए । त्यसो भए संसद् किन अवरुद्ध गर्नुभएको त भन्ने प्रश्नमा उनले भने, “संसद् अवरोध र नेपाली भूमि फिर्ताको कुनै सम्बन्ध छैन । सभामुखको पूर्वाग्रही ढंगले चल्नुभयो । सत्तापक्ष संवादमा आउँदैन ।” सरकारले आफ्ना धारणा स्पष्ट नगर्दै एमालेले एमसीसीमा कार्ड नखोल्ने पनि उनले प्रस्ट पारे ।
नारायणहिटी राजदरबार संग्रहालयको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री योगेश भट्टराईको कुनै दोष नरहेको पनि रिजालले दाबी गरे । उनले भने, “नारायणहिटी राजदरबार संग्रहालयको जग्गा भाडामा दिनु गलत छैन । हामी बुझेर बोलिरहेका छौं कि नबुझीकन बोलिरहेका छौं ? त्यो पर्यटकीय ठाउँ हो भने आधारभूत सुविधा त दिनुपर्छ नि । क्याफ्टेरिया चलाउन दिनु अपराध हो र ? यति सामान्य विषयमा पनि चरित्रहत्या गर्नु अन्याय हुन्छ । यो निर्णय हिजो पनि ठीक थियो, आज पनि ठीक छ, भोलि पनि ठीक हुनेछ ।”