योगेश भट्टराईको लोकप्रिय काम ,गर्लान त अरु नेताले पनि सिको ? - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

योगेश भट्टराईको लोकप्रिय काम ,गर्लान त अरु नेताले पनि सिको ?



काठमाडौँ। प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले घरभाडा लिने सांसदहरुको सूचीमा आफ्नो पनि नाम आउँदा आश्चर्यमा परेको बताएका छन् ।

आइतबार प्रकाशति एक दैनिक पत्रिकामा काठमाडौँमा घर भएर पनि संसद सचिवालयबाट घरभाडा वापत रकम बुझिरहेका सांसदहरु सम्बन्धी समाचार प्रकाशन भएको थियो । जसमा ताप्लेजुङबाट निर्वाचित भट्टराईको पनि नाम जोडिएर आएको थियो ।

उनले संसद सचिवालयले काठमाडौँमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण भराउँदा आफूले प्रष्ट रुपमा काठमाडौँमा घर भएको उल्लेख गरेको बताए छन् ।

‘संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडाैँमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु’, आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै भट्टराईले भनेका छन्, ‘सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफै आश्चर्यमा परेको छु ।’

संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएको भन्दै भट्टराईले दुःख व्यक्त गरेका छन् ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका उनले लामो राजनीतिक यात्रा तय गरेर हिँडेको आफूजस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका काम नहुने प्रतिवद्धता पनि जनाएका छन् । ‘लामो राजनीतिक यात्रा तय गरेर हिँडेको मजस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने कुरा पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’, उनले भनेका छन् ।

भट्टराईले आफ्नो नाममा जम्मा भएको रकम फिर्ता गर्न वा आउँदो महिना प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई अनुरोध गरेका छन् । ‘घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु’ सांसद भट्टराईले भनेका छन् ।