सरकारको विपक्षमा बोल्ने शिक्षकमाथि पुटिनले गरे कारबाही - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

सरकारको विपक्षमा बोल्ने शिक्षकमाथि पुटिनले गरे कारबाही



मस्को । रुसका २८ वर्षीय भूगोल विषय पढाउने शिक्षक कामरान म्यानाफ्लाइले आफ्नो इन्स्टाग्राममा लेखेका थिए,”म मुलुकको प्रोपोगान्डाको प्रतिविम्ब हुन चाहन्न । मेरो आफ्नै सोचाइ छ । धेरै शिक्षकहरूका पनि आ–आफ्नै विचार छन् । मेरो सोचाइ राष्ट्रको विचारसँग मिल्दैन ।”

रुसमा सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाइनुअघि उनले यस्तो लेखेका थिए ।

मस्कोको मध्य भागस्थित आफूले पढाउने एउटा माध्यमिक विद्यालयका कर्मचारी तथा शिक्षक बैठकमा उनीलगायत उनका सहकर्मीहरूलाई सरकारको राय नबाँझिने गरी विद्यार्थीहरूसँग युक्रेनकाबारे कुराकानी गर्नुपर्ने बताइएपछि उनले इन्स्टाग्राममा त्यस्तो अभिव्यक्ति दिएका थिए ।

तर इन्स्टाग्राममा पोस्टिङ गरेको दुई घन्टापछि विद्यालयका हेडमास्टरले फोन गर्दै उनलाई भने, “तत्काल पोस्ट गरेको कुरा मेट्नू वा जागिर छोड्नू । “

उनले बीबीसीलाई भनेका छन्, “मलाई पोस्ट गरिएका कुरा डिलेट गर्न मनलागेन । वादविवाद गर्नुको कुनै मतलब नहुने मलाई थाहा थियो । तसर्थ जागिरबाटै राजीनामा दिने निर्णय गरेँ ।”

भोलिपल्ट राजिनामा पत्र बुझाउन र आफ्ना सामान लिन विद्यालय पुग्दा उनलाई भित्र छिर्न पनि दिइएन ।

उनलाई विद्यालय परिसर प्रवेश गराउने आदेश नै नभएको बताइयो । बरु उनलाई सडकमै आएर विद्यार्थीहरूले आवश्यक मद्दत गरे । त्यति नै बेला कसैले उनले अवैध ढंगले र्‍याली आयोजना गर्न लागेको भन्दै प्रहरी बोलाए । बीबीसीलाई प्राप्त भिडियोहरूमा म्यानाफ्लाइलाई विद्यार्थीहरूले मुस्कुराउँदै बिदाइ गरिरहेको देखिन्छ ।

त्यो दिन उनले आफ्ना सामान लग्न भ्याए । भोलिपल्ट भेटेका हेडमास्टरले उनलाई किन राजनीतकि कुराहरू लेखेको भनेर सोधे । उनको राजीनामा पत्र बुझिएन । परिस्थिति बदलिइसकेको भन्दै दुई दिनपछि अनैतिक काम गरेको आरोपमा उनलाई पदबाट बर्खास्त गरिएको जानकारी दिइयो ।

इन्स्टाग्राममा विमानको ढोका शान्तिको प्रतीक ढुकुरसहितको तस्बिर राखेकी डाक्टर अन्ना लेभाद्नायालाई पनि सजायस्वरूप उनका एकसय जना भन्दा बढी सहकर्मी माझ बेइज्जत गरिएको थियो । रुसले युक्रेनमा आत्रमण गरेको विरोधमा सडकमा प्रदर्शन गर्ने हजारौ व्यक्तिलाई गिरफतार गरिएको थियो ।

केही समयअघि मात्र रुसी फौजको अपमान हुने खबर फैलाउनेलाई पन्ध्र वर्ष लामो कैद सजाय तथा आर्थिक जरिबाना हुने नयाँ कानुनको तर्जुमा गरिएको थियो । यसरी सरकारको विरोध गर्नेहरूको जागिरै जाने घटनाहरू सार्वजनिक हुन थालेपछि धेरैले जागिर जोगाउनैका लागि पनि रुसमा मुख बन्द गर्न थालेको खबरहरू पनि बाहिरन थालेका छन् ।