वाइसीएलमा ‘दिपशिखा प्रवृत्ति’ हावी, संगठनलाई ध्वस्त बनाउन खोजेको आरोप - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

वाइसीएलमा ‘दिपशिखा प्रवृत्ति’ हावी, संगठनलाई ध्वस्त बनाउन खोजेको आरोप




काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । भदौं १२ र १३ गतेसम्मको लागि तोकिएको भेला वाइसीएलको नेतृत्व कसले लिने भन्ने विषयमा विवाद भएपछि दुई दिन लम्बिएको थियो ।

कोरोना महामारीलाई मध्यनजर गर्दै भर्चुअल विधिबाट ‘उत्पादन, स्वरोजगार आत्मनिर्भरताका लागि समाजबादको बाटो रोजौं’ भन्ने मुल नाराका साथ सुरु भएको उक्त भेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । सातै ओटा प्रदेशमा छुट्टाछुट्टै भेला गराएर भर्चुअलको माध्यमले सुरु भएको राष्ट्रिय भेला जसरी उत्साहका साथ सुरु भयो त्यसको समापन निराशाजनक तरिकाले हुन पुग्यो ।

विशेषगरी नेतृत्व चयनको विषयमा सहमति जनाउन नसक्दा भेला दुईदिन पर लम्बिएर पनि नेतृत्व चयन गर्न सकेन । भेलाले २३१ जना केन्द्रीय सदस्यहरु चयन गरेर उक्त केन्द्रीय सदस्यहरु र अध्यक्ष प्रचण्ड सहितको बैठकबाट नेतृत्व चयन गर्ने निर्णय सहित उक्त भेला समापान भयो तर यसले आम जनमानसमा वाइसीएलले एउटा नेतृत्व समेत चयन गर्न नसकेको सन्देश गएको छ ।

वाइसीएलको अध्यक्षको दाबेदर बरिस्ठ उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुबोध शेर्पाली थिए । विशेषगरी युवाहरू माझ लोकप्रिय रहेको सुवोध शेर्पालीलाई उपाध्यक्ष बनाएर सुमन देवकोटालाई अध्यक्ष बनाउन खोजेपछि निकै विवाद उत्पन्न भएको थियो । सहमतिको आधारमा नेतृत्व चयन गर्न नसकेपछि नेतृत्व चयनको विषय माओवादी केन्द्रको स्थायी समितिको बैठकसम्म पुग्यो । स्थायी समितिको बैठकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र पौडेलबाहेक सबै स्थायी समिति सदस्यहरु सुबोध सेर्पालीको पक्षमा उभिएका थिए । तर, स्थायी कमिटिबाट यसबारे कुनै निर्णय भएन ।

स्रोतका अनुसार सुमन देवकोटालाई वाइसीएलको अध्यक्ष बनाउन पुर्व अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज राम प्रसाद सापकोटा दिपशिखा र अर्का उपाध्यक्ष बिरु तामाङ (सुदिप) लगायतका केही वाइसीएल नेताहरू लागिपरेका थिए । जसैगरी देवकोटालाई अध्यक्ष बनाउनुपर्नेमा दिपशिखा र सुदिप थिए । तर, कार्यकर्ताको अगाडि दिपशिखा र सुदिपको के लागोस्, भेलामा भएका ८० प्रतिशत कार्यकर्ता सुबोधको पक्षमा उभिएका थिए ।

पुर्वअध्यक्ष दिपशिखाको कार्यकालभरि महासचिव सुबोधसँगको सम्बन्ध सुमधुर थियो । तर रुपा सुनवार प्रकरणमा दिपशिखाले संगठनको तर्फबाट निकालेको वक्तव्य सामाजिक सञ्जालमा शेयर गरेर फेरि नेवार समुदाय भड्किन सक्ने भन्दै वक्तव्य नै डिलिट गरेपछि उक्त विषयमा महासचिव र अध्यक्षबिच विवाद सुरु भएको थियो ।

आफ्नो कार्यकाल भरि महासचिव शेर्पालीको काँध चढेर हिडेका सापकोटाले अन्तिम चरणमा आएर साधारण विवादलाई लिएर महासचिव शेर्पालीलाई अध्यक्ष बनाउन नदिन घृणित खेलमा लागेको एक केन्द्रीय सदस्यले बताए । एमालेभित्र ‘ओली’ प्रवृत्तिजस्तै वाइसिएलमा दिपशिाखा प्रवृत्ति हावी भएको एकजना नवनिर्वाचित केन्द्रीय सदस्यले बताए । उनले नाम नछाप्ने शर्तमा भने, ‘एमाले छिन्नभिन्न हुनुको मुल कारण ओली हो, त्यसैगरि वाइसीएल भित्र पनि दिपशिखा प्रवृत्तिले वाइसीएल संगठन ध्वस्त बनाउन खोजेको छ, यो दिपशिखा प्रवृत्तिले वाइसिएल ध्वस्त हुन्छ ।’
भक्तपुरमा वाइसीएल अध्यक्ष भएर त्यहाँ असफल भइसकेका सापकोटा केही नेताहरूलाई प्रयोग गरेर केन्द्रीय अध्यक्ष भएका हुन् । सापकोटाले अन्तिम चरणमा फरक मत राखेकै कारण दिपशिखालाई वाइसिएलको अध्यक्ष बनाउन हात धोएर लाग्ने हिजोका सहकर्मीहरुलाई समेत माइनस गरेको ती केन्द्रीय सदस्यको गुनासो छ ।

‘दिपशिखा प्रवृत्ति वाइसीएल भित्रको मुख्य समस्य हो । जसले उनलाई अन्धभक्त भएर समर्थन गर्छ, उसको राजनीति सुरक्षित भइन्छ तर जसले उनको आलोचना गर्छ उनको राजनीति जसरी पनि सिध्याउने गरेको भेटिन्छ ।’ ती केन्द्रीय सदस्य भन्छन्, ‘दिपशिाखा पनि आफ्नो प्रशंसकको घेरामा बस्न चाहेका छन्, जबकी हिजो उनी पार्टीमा परिवारवाद हावी भयो भनेर ठूला कुरा गर्थे, आज उनैले श्रीमतीलाई केन्द्रीय सदस्य बनाएका छन् ।’

प्रथम राष्ट्रिय भेलाबाट नेतृत्व चयन गर्न नसक्नुको मुख्य कारण नै दिपशिखाको प्रवृत्ति भएको माओवादी नेताहरुमा चर्चा पनि हुन थालेको छ । हालै खुमलटार पुगेर आएका माओवादीका एक नेता भन्छन्, ‘राष्ट्रिय भेलाबाट दिपशिखाको असफल कमाण्डको कारण नेतृत्व दिन सकेन भन्ने पार्टीको ठहर छ ।’

आफ्नै कमिटिका साथीहरुलाई मिलाउनुको साटो दिपशिखाले आफू प्रशंसकको साथ खोजेको नेताहरुको विश्लेषण छ । उनले कुनै हालतमा महासचिव शेर्पालीलाई केन्द्रीय अध्यक्ष बनाउन नदिने खेलमा लागेपछि अन्ततः नेतृत्व विनाको केन्द्रीय सदस्यहरु घोषणा गरेर भेला समापन गर्नु परेको थियो । केन्द्रीय सदस्य चयनको क्रममा आफ्नो जीवनसंगिनी र सालीलाई समेत केन्द्रीय सदस्य बनाएर अरु फरक मत राख्ने इमानदार कार्यकर्ताहरुलाई केन्द्रीय सदस्य हुन नदिएको आरोप लगाएका छन् ।

सामाजिक संजालको कमेन्टहरुलाई लिएर स–साना विषयमा समेत तल्लो स्तरमा झरेर कार्यकर्ताहरुसँग झगडा गर्ने, फरक मत राख्नेहरुले संगठनमा जति नै योगदान गरेको भए पनि भित्तामा पुर्याउन खोज्नेजस्ता हर्कत अहिले मौलाउँदे आएको ‘दिपशिखा प्रवृत्ति’ भएको वाइसिएल कार्यकर्ताहरुको आरोप छ । ‘उनले कसले संगठनमा कति काम गर्यो सरोकार राख्दैन मात्रै उनले राखेको विचारमा आँखा चिम्लेर समर्थन गर्नु पर्यो । फरक मत लोकतन्त्रको सुन्दर पक्ष हो तर दिपशिखाको जसले आलोचना गर्यो उसको राजनीति सक्यो भनेर सोच्दा हुन्छ । यही प्रवृत्ति रहिरह्यो भने संगठन झन कमजोर हुने निश्चित छ ।’ हालै निर्वाचित एकजना महिला केन्द्रीय सदस्य सुनाउँछन् ।