ठूलो भालुलाई भारतीय सेनाले 'यती' भनेपछि... - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

ठूलो भालुलाई भारतीय सेनाले ‘यती’ भनेपछि…



काठमाडौँ — भारतीय सेनाको आरोहण टोलीले मकालु वरुण निकुञ्जमा यतीको पाइला भेटिएको दाबी गर्दै प्रचार गरिरहे पनि स्थानीय, विज्ञ र सरकारी अधिकारीले अस्वीकार गरेका छन् । मकालु वरुण निकुञ्जको नाङ्लालेखमा यतीको पाइला भेटिएको दाबी गरे पनि उनीहरूसँगै रहेका स्थानीय भरियाले हिमाली ठुलो भालुको पाइला भएको बताएका छन् ।

भारतीय सेनाको टोलीसँग नेपाली सेनाका तर्फबाट क्याप्टेन नेतृत्वको टोली समेत सम्पर्क अधिकृत (लियाजो अफिसर) का रूपमा खटिएको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाँडेले भारतीय सेनाले यतीको पाइला भनेर प्रचार गरेको पदचिन्हलाई भरियाले ठुलो भालुको पाइला भएको र त्यो क्षेत्रमा सामान्य भएको बताएको उल्लेख गरे। ‘अघिल्लो टोलीमा रहेको भारतीय सेनाले पाइला देखेका रहेछन्’ मकालु वरुणमा भारतीय सेनाको टोलीसँगै रहेका नेपाली सेनाको क्याप्टेनको भनाई उद्धृत गर्दै प्रवक्ता पाँडेले भने, ‘हामी पुग्दा पाइला मेटिसकेको थियो, यो कुरा हामीले बेसक्याम्पमा पुगेपछि मात्र थाहा पायौँ।’

टोलीको भारी बोकेर गएका भरियाले भने यस्ता पाइला विगतमा पनि धेरै पटक देखिएको नेपाली सेनाको टोलीलाई बताएका छन्। तीन वर्षअघि फ्रान्सेली टोलीले पनि उक्त क्षेत्रमा यस्तै पाइला देखेर यतीको हुन सक्ने दाबी गरेका थिए। पछि त्यो हिमाली कालो भालुको पुष्टि भएको थियो। वन्यजन्तुविद्हरूका अनुसार उक्त क्षेत्र हिमाली कालो भालुका लागि प्रख्यात छ।

मौसम खराब भएका कारण आरोहण टोली बेसक्याम्पमै बसेको छ। बेसक्याम्पबाटै भारतीय सेनाले ९ अप्रिलमा पहिलो पटक रहस्यमयी यतीको ३२*१५ इन्च लम्बाइको पाइला भेटिएको भन्दै ट्वीट गरेको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भारतीय सेनाले आधार बिना नै यतीको पाइला भनेर होहल्ला गरेको बताए। ‘उनीहरू (भारतीय) ले यतीको पाइला भनी प्रचार गरेको पाइलालाई हाम्रा विज्ञहरूले भालुको पाइला भनेका छन्’, उनले कान्तिपुरसित भने, ‘हचुवामा प्रचार गर्ने भारतीयहरूको बानी नै हो।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) चन्द्रशेखर चौधरीले पनि भारतीय सेनाको दाबीलाई अस्वीकार गरेका छन्। ‘उहाँहरूले के आधारमा भन्नुभएको हो मलाई केही थाहा छैन’ चौधरीले खड्कासँग भनेका थिए, ‘टोली फर्केपछि कुरा गर्नुपर्ला।’

ट्वीटपछि यसलाई विश्वभर चासोका साथ हेरिएको छ भने बीबीसी, सीएनएनलगायत अन्तर्राष्ट्रिय मिडियाले समेत समाचार बनाएका छन्।