यातायात व्यवसायी भन्छन: दशैंका लागि अग्रिम टिकट खुलाउदैनौ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

यातायात व्यवसायी भन्छन: दशैंका लागि अग्रिम टिकट खुलाउदैनौ



काठमाडाैं- यातायात व्यवसायीले सरकारसँग गरेकाे सहमति लत्याउँदै दशैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका छन्। यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो। उक्त सहमति भदौ ३१ गते भएको थियाे।

सरकारसँग अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएलगतै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले टिकट बुकिङ खुल्ला नगर्ने निर्णय गरेको हो।

आयल निगमले गत २ गते प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजल/मट्टीतेलमा ३ रुपैयाँ मुल्यवृद्धि गरेको थियो। नेपाल आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता नगरे अग्रिम बुकिङ टिकट खुल्ला नगर्ने भन्दै व्यवसायीले मंगलबार २४ घन्टे अल्टिमेटम दिएका थिए। तर, सरकारले मूल्यवृद्धि फिर्ता नलिएपछि अग्रिम बुकिङ नखुलाउने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले बताए। सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अग्रिम बुकिङ खुल्ला नगर्ने उनको भनाइ छ।