गोर्खाली सेना र छिमेकी नेपाल बिना भारत अधुरो छ : भारतीय पूर्वमन्त्री - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

गोर्खाली सेना र छिमेकी नेपाल बिना भारत अधुरो छ : भारतीय पूर्वमन्त्री



काठमाडौं- भारतका पूर्व बाह्य मामिलामन्त्री यसवंत सिन्हाले भारतलाई सुरक्षित राख्ने युद्धकौशलमा उत्कृष्ट गोर्खा राइफल नेपाली बिना अपूर्ण हुने बताउंदै नेपालसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।

द हिन्दूको अंग्रेजी संस्करणमा आज प्रकाशित टिप्पणीमा उनले भारत र नेपालबीचको शान्ति र मैत्रीमा आँच पुग्ने गतिविधिको अन्त्यका लागि रचनात्मक संवादमा विश्वास राखेर सहानुभूतिका साथ वार्ता गर्नुपर्ने अपरिहार्यतालाई औंल्याएका छन् ।

सिन्हा र नीति विश्लेषक एवं स्तम्भकार अतुल ठाकुरका नाममा प्रकाशित टिप्पणीमा सहज र असहज अवस्थामा भारत र नेपाल साथसाथै रहनुपर्छ, कूटनीतिक वार्ता जतिसक्दो चाँडो पुनः प्रारम्भ हुनुपर्छ भनिएको छ ।

नयाँदिल्ली र काठमाडौंस्थित दुवै देशका राजदूतावासलाई स्वतन्त्रपूर्वक कार्य सम्पादन गर्न दिनुपर्ने तथा २०७२ सालको जस्तो परिस्थिति कुनै पनि हालतमा दोहोरिन नहुने टिप्पणीमा उल्लेख गरिएको छ ।

‘कोभिड–१९ को सङ्कटकाल भनेर भारत वार्ताबाट पन्छिन मिल्दैन, बाह्य मामिला मन्त्रालयको पछिल्लो वक्तव्य व्यवहारमा रुपान्तरण हुनुपर्छ, रचनात्मक वार्ताको माध्यमबाट विश्वास र भरोसालाई पुनस्र्थापना गर्नैपर्छ’, टिप्पणीमा भनिएको छ ।

महामारीको समय छिमेकसँग शत्रुतापूर्ण व्यवहार गर्ने बेला नभएको, वर्तमान समयमा दक्षिण एशियामा सुदृढ क्षेत्रीय र उपक्षेत्रीय सहयोगलाई गति दिने नेतृत्व भारतले गर्नुपर्ने सुझाव दिइएको छ ।

‘भारत र नेपालको सम्बन्ध वर्तमान सरकार र कूटनीतिभन्दा अधिक महत्वयुक्त छ, सभ्यताकालदेखिको साझा सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धका कारण दुवै राष्ट्रबीचको अन्योन्याश्रित सम्बन्ध सरकारबीचको मात्र होइन, भारतलाई सुरक्षित राख्ने युद्धकौशलमा उत्कृष्ट गोर्खा राइफल नेपाली बिना अपूर्ण हुन्छ, त्यसैले पारस्परिक द्वन्द्वको कुनै स्थान छैन, भारतको स्वतन्त्रता सङ्ग्राममा पनि नेपाली जनता लडेका थिए’, टिप्पणीमा उल्लेख गरिएको छ ।