यस्तो पो राजनीति: श्रीमान् मुख्यमन्त्री श्रीमती सांसद !
प्रदेश–५ का लागि एमाले नेता शंकर पोखरेलले मुख्यमन्त्रीको दावी गरेकै दिन पोखरेल पत्नी सुजिता शाक्यलाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ ।
धुम्बाराहीस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको एमाले स्थायी समितिको बैठकले पोखरेल पत्नी शाक्य सहित ४१ जनाको नाम प्रतिनिधि सभाका लागि सिफारिस गरेको हो । शाक्यको नाम एमालेले छुट्याएको क्रम संख्याको साँतौं नम्बर छ ।
शाक्य एमालेको तर्फबाट प्रतिनिधि सभामा पुग्ने एक्ली नेतापत्नी भने होइनन् । उपाध्यक्ष बामदेब गौतमपत्नी तुलशा थापा पनि प्रतिनिधि सभाका लागि सिफारिस भएकी छन् ।
रौतहट–४ बाट पराजित एमाले नेता रामकुमार भट्टराई पत्नी कल्याणी खड्कालाई पनि प्रतिनिधि सभाका लागि एमालेले सिफारिस गरेको छ । श्रीमान मुख्यमन्त्री र श्रीमती सांसद बनेको घटना भने यो पहिलो नै हो ।