लक्ष्य पछ्याउँदै यसरी खेल्दैछ नेपाल - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

लक्ष्य पछ्याउँदै यसरी खेल्दैछ नेपाल



काठमाडौं- नेपालले आफ्नो  पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा  १९० रनको लक्ष्य पाएको छ। नेपालले पाँच ओभरमा विकेट नगुमाई  २१ रन जोडेको छ। ओपनरद्धय ज्ञानेन्द्र मल्ल १२  र अनिल शाह ८ रनमा खेल्दै छन्। नेपाललाई अब ४५ ओभरमा १६९ रन आवश्यक छ।

यसअघि घरेलु टोली नेदरल्यान्ड्स  नेपालको कसिलो बलिङसामु खुलेर खेल्न सकेन। टस जितेको नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्दै ४७ ओभर चार बलमा सबै विकेट गुमाएर १८९ रनमा सिमित भयो।

नेपालका बलर पारस खड्काले चार र सोमपाल कामीले तीन विकेट लिए। करन केसी, सन्दीप लामिछाने र बसन्त रेग्मीले एक एक विकेट हात पारे। नेदरल्यान्ड्सका लागि माइकल रिप्पोनले सर्वाधिक ५१ रन जोडे।

नेदरल्यान्ड्सले पाँच रन जोड्दा पहिलो विकेट गुमाएको थियो।

तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले ड्यानियल डर ब्राकलाई एक रनमा आउट गरे। ब्राक बोल्ड भएका थिए। नेदरल्यान्ड्सले दोस्रो विकेटका लागि ४५ रनको साझेदारी गर्‍यो। बेन कुपर २० रनमा आउट भए।

८ औं ओभरमा बलिङ गर्न आएका पारस खड्काले आफ्नो पहिलो ओभरमै विकेट हात पारे। कुपर एलबिडब्लु धरापमा परेका हुन् । १३ औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले ओपनर  स्टेफन माईबर्घलाई ३० रनमा आउट गरे। माइबर्घ बोल्ड भएका थिए। पारसले १६ औं ओभरको पहिलो बलमा वेस्ली बारेस्सीलाई १२ रनमा आउट गरे।

नेदरल्यान्ड्सले पाँचौं विकेटका लागि ६८ रनको साझेदारी गरेको थियो। सोमपालले पाँचौं विकेटका रुपमा बास दे लिडेलाई ३० रनमा आउट गरे। बसन्तले छैटौं विकेटका रुपमा कप्तान पिटर सिलारलाई पाँच रनमा आउट गरे। पारसले सातौं विकेटका रुपमा माइकल रिप्पोनलाई ५१ रनमा आउट गरे। उनले आठौं विकेटका रुपमा सेन स्नाटरलाई शुन्यमा आउट गरे। करनले नवौं विकेटका रुपमा विकेटकिपर स्कट एडवार्ड्सलाई १८ रनमा आउट गरे। १० औं विकेट सोमपालले हात पारेका हुन्।

पारसले १० ओभरमा २६, सन्दीपले १० ओभरमा ४२ र सोमपालले ८.४ ओभरमा ३४ रन खर्चिए।

नेपाली टोलीमा कप्तान पारस खड्का,शरद भेषावकर,ज्ञानेन्द्र मल्ल,सोमपाल कामी,सन्दीप लामिछाने,,अनिल शाह,बसन्त रेग्मी, आरिफ शेख,दीपेन्द्रसिंह एेरी,करन केसी र शक्ती गौचन छन्।