यस कारण धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरीदैन। - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

यस कारण धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरीदैन।



कर्ण अधिकारी मकाउ,चीन।

विगत १ हप्ता देखि सामाजिक सञ्जालमा भाईरल भई रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र हास्य कलाकारद्वय धुर्मुस सुन्तली फाउण्डेशनको विषयमा चर्चा परिचर्चा भई रहँदा केही लेख्ने जमर्को गरेको छु।म धुर्मुस सुन्तलीको फाउण्डेशन र यसले गरेका कार्य प्रति मेरो विरोध कदाचित होइन तर पनि एउटा व्यापारिक हिसाबले निर्माण गर्न लागेको स्टेडियमको भित्री रहस्यलाई उजागर गर्न खोजेको मात्र हुँ।मैले धुर्मुस सुन्तलीको कामलाई भन्दा पनि नेपाल सरकारको कार्य रणनीतिको विरोध गरेको हुँ।

देशको राजनीति अस्थिरता र राज्य चलाउने अपरिपक्व रणनीतिका कारण ४० लाख भन्दा बढी नेपाली होनहार युवा युवतीहरू विदेशी भूमिमा कार्यरत छन्।आफ्नो शरीरलाई नेपालमा च्याउ सरी उम्रिएका मने पावर कम्पनीको दैलोमा पुगेर आफूले आफैलाई बेच्दै बिदेशीएका हरूको दु:ख पीडाको हामी यो २/४ शब्दले कोरिएका हरफहरूमा उजागर समेत गर्न सक्दैनौ।काहाली लाग्दो र दुखद क्षणहरूमा गुज्रिएका नेपालीहरू चाहे ५० डिग्री तापक्रममा साउदी कतारमा कार्यरत होस चाहे माईनस ५० डिग्री सम्मको चिसो युरोप अमेरिका किन नहोस् सबै आफ्ना पारिवारिक आर्थिक स्थितिलाई मजबुत बनाउन लागि परी रहेको अवस्थामा बेलाबेलामा विभिन्न कार्यहरूका लागि सहयोग उठाउने कार्य पनि नभएको होइन।त्यसरी सहयोग गर्ने र जुटाई दिने अभियन्ताको रूपमा मैले पनि काम गर्दै आएको छु।

डोल्मा शेर्पा देखि अमर बम,आनिस खालिङ राई हुँदै मिर्गौला पीडितहरू र ब्लड क्यान्सर पीडितहरूलाई सहयोग जुटाउँदै आएको अवस्थामा विगतमा धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्प पीडित र बाढी पीडित साथै जाडोमा कठयाङ्ग्रीएर जीवन जीई रहेका नेपालीहरूका लागि निर्माण गरेको मुसहर बस्ती र एकीकृत नमुना बस्ती निर्माण गर्दा बिदेशीएकाहरूको सहयोगकै कारण कार्य सम्पन्न भएकै हो तर आज धुर्मुस सुन्तली फाउण्डेशनले जुन रणनीति लिएर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने अभियान थालेको छ यो एकदमै गलत साबित हुने छ।हास्य कलाकार जोडीलाई अगाडी सारेर नेपाल सरकारले जुन रणनीति अपनायो यसबाट के प्रस्ट हुन्छ भने धुर्मुस सुन्तली नेकपाको एजेन्ट नै हुन्।ओली सरकारले धुर्मुस सुन्तलीलाई हतियार बनाएर नाफा मूलक स्टेडियम बनाउन ठेक्का दिएको छ।

नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरी सरकारकै ढुकुटीबाट खेल मैदान निर्माण गर्नु पर्ने हो तर सरकार किन निरीह बन्दै छ ? नेपाल सरकार ठुलो हो की एउटा व्यक्तिले खोलेको फाउण्डेशन ठुलो हो ? यदि फाउण्डेशन नै ठुलो हो भने सरकारको औचित्य के हो ? बिदेशीएका नेपालीको रोजी रोटीको छाक कटाएर जनता लुट्ने कार्यमा अग्रसरता देखाउन उचित होला र ? बिदेशीएका नेपालीले छुट्टी आउँदा आफ्नै व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएका केही बोतल रक्सी माथि पनि गिद्धे नजर लगाउने सरकारलाई हाम्रो मनले कसरी सहयोग गर्ने ? हामीले दिएकै करबाट बन्नु पर्ने होइन र बाटो घाटो साथै खेलकुद मैदान । वार्षिक छुट्टाइएको बजेटलाई कोल्याप्स गराई दिने, एनसेलबाट लिनु पर्ने ७२ अरब राजस्व लिन नसक्ने,प्रचण्डले घोटाला गरेको भनिएको २० अरब छानबिन गर्न नसक्ने,वाइड बडी जहाजको खरिद प्रक्रियामा भएको ४ अरब बढी भ्रष्ट्राचार भएको रकमको खोजतलास गर्न नसक्ने,भ्रष्ट्रचारीहरूलाई कानुनी कठघरामा ल्याएर पैसा उठाउन नसक्ने अनि उल्टै हास्य कलाकार धुर्मुस सुन्तलीलाई रङ्गशाला बनाउन दिने !

नाफा मूलक र ब्यबशायीक हिसाबमा निर्माण हुने क्रिकेट स्टेडियमको फाइदा कसले लिने ? धुर्मुस सुन्तली फाउण्डेशन वा भरतपुर महानगरपालिकाले ? के स्टेडियम बन्दा अनुदान गर्नेहरूले चाहिँ केही नपाउने ? स्मरण रहोस् नमुना बस्ती र मुसहर बस्ती बनेको जस्तो सजिलो छैन क्रिकेट स्टेडियम बन्न।लगभग ३ अरबको लेखा जोखा गरिएको परियोजना चानचुने भने पक्कै छैन।सरकारले धुर्मुस सुन्तलीलाई अगाडी सारेर स्टेडियम बनाउनु भन्दा आफैले निर्माण गरेको राम्रो साथै धुर्मुस सुन्तलीलाई एउटै अनुरोध तपाइहरूको संस्थालाई नेकपाको भातृ सङ्गठनको दर्जा नदिनु होला।बिदेशीएका नेपालीको गाँस खोसेर सरकारलाई खुसी बनाउँदै नाम र तक्मा थप्ने काम नगर्नु होला किनकि तपाइहरूको जति भूमिका छ त्यति नै भूमिका ती तपाईँको फाउण्डेशनलाई सहयोग पुर्‍याउनेको पनि छ।