यान्छी झनै सक्रिय: राष्ट्रपति निवासमै २ घण्टा छलफल
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भैसक्दा समेत चीन भने मिलाउने अथक प्रयासमा जुटेको छ । शुक्रबार मात्र चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो भेटवार्ता गरिन।
चिनिया राजदूत होउ यान्छी राष्ट्रपति निवासमा शुक्रबार मात्र २ घण्टा बिताएकी छन । साँझ ६ बजे शितलनिवास पुगेकी यान्छी ८ बजेमात्र त्यहाँबाट बाहिरिएकी थिइन् ।
राष्ट्रपतिसँग लामो छलफल गरेर निस्किएकी यान्छीले पछिल्लो समय नेकपाका दोस्रो र तेस्रो तहका नेताहरुसँग छलफल र परामर्श गरिरहेकी छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहले आ-आफ्ना गतिविधलाई तीव्रता दिइरहेका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भेटमा यान्छीले नेकपा विभाजन पछि उत्पन्न परिस्थितिबारे कुराकानी गरेको बुझिएको छ । नेकपा एकताको पक्षमा चीन रहेको सन्देश दिँदै आएकी उनले पार्टी एकताकै विषयमा राष्ट्रपति भण्डारीसँग छलफल गरेको स्रोतले जनाएको हो ।