चीनसँग खुशी छैनन् प्रधानमन्त्री ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश बोकेर आएकी नेपालका लागि चिनिया राजदूत होउ यान्छीलाई समय नदिएको खुलेको छ ।
दुई महिनादेखि प्रधानमन्त्री ओलीलाई भेट गर्न समय मागेकी नेपालस्थित चिनियाँ राजदूत यान्छीलाई यो पटक पनि समय नदिएपछि निरास बनेकी छन् । तीन दिन अगाडि मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न पुगेकी यान्छीले प्रधानमन्त्री ओलीले समय नदिएपछि बुधवार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग भेट गरेकी छन् ।
प्रधानमन्त्री ओलीले समय उपलब्ध नगराएकाले रिमाललाई भेट गरेर ओलीलाई चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश पठाएको बताइएको छ । नेपालमा कम्युनिस्टलाई बलियो बनाउने र भारतलगायतका देशहरूको प्रभावबाट नेपाललाई टाढा राख्ने भन्दै चीनले कम्युनिस्ट पार्टीहरूलाई साथ् दिँदै आएको छ ।
एमालेभित्रै अन्तरसंर्घष गरिरहेका बेला नेता माधव नेपाल र प्रचण्डसँग अलग्गै भेट गरी छलफल गरेकी यान्छीलाई पछिल्लो समय बालुवाटारले चासो नदिएको बताइन्छ ।
तत्कालिन नेकपा फुट नजिक पुगेका बेला चिनिया संदेश बोकेर आएकी यान्छीले ओलीले पद छाडेर भएपनि पार्टी एकता जोगाउन दवाव दिएपछि प्रधानमन्त्री ओली चीनसँग सशंकित छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीले सकेसम्म नेकपा एमालेभित्रको विवाद मिलाउने मात्र होइन कम्युनिस्ट एलाइन्स (समीकरण)लाई बलियो बनाउने वा जोगाउने ठुलो प्रयत्न गरेको थियो ।
गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिने निर्णय गरेपछि राजनीतिक सङ्कट गहिरिँदै गरेका बेला राजदूत यान्छीको सक्रियता बढेको हो। उनले नेपालका दुई कम्युनिस्ट पार्टी पूर्ववत् अवस्थामा फिर्केपछिको राजनीतिक घटनाक्रम, नयाँ सरकारको सम्भावना लगायत विषयमा केन्द्रित रहेर नेताहरूसँग भेटवार्ता गरेकी हुन्।
यान्छीले केहि समय अघि उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग पनि भेटघाट गरी कम्युनिस्ट पार्टीहरूबिचको समीकरण नटुटाउन आग्रह गरेकी थिइन। त्यसयता लगातार प्रधानमन्त्री ओलीलाई भेट्न खोजे पनि उनले समय पाएकी छैनन्।