यमपञ्चक आजदेखि शुरु,पहिलो दिन काग तिहार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यमपञ्चक आजदेखि शुरु,पहिलो दिन काग तिहार



काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।
यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

पहिलो दिन काग तिहार

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

कात्तिक २० गते मङ्गलबार कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ । स्नानपछि कुकुरलाई मीठा खानेकुरा खान दिइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।
काग र कुकुरलाई मीठा खानेकुरा खान दिइए पनि पूजा गर्ने शास्त्रीय विधि भने नरहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

कात्तिक २१ गते बुधबार कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । यसैदिन भलो होस् भनी भैलो खेल्ने चलन छ ।

कूल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् । गाईपूजा नगरी लक्ष्मीपूजा नगर्नेले कात्तिक कृष्ण औँशीकै दिन बिहान गाई पूजा गर्ने गरेका हुन् । शास्त्रीय रुपमा गाईको पूजा कात्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा गौतमले बताए ।

कात्तिक २२ गते कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ । हलतिहारसमेत भनिने यसदिन बेलुकी देउसी खेलिन्छ ।

कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते शुक्रबार भाइटीका परेको अध्यक्ष गौतमले बताए ।

तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दूको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गर्छन् । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्नुहुने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमीन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ ।

समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष गौतमले राससलाई जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । कात्तिक २३ गते भाइटीका लगाएपछि दोस्रो ठूलो चाड तिहार सकिन्छ ।

आजै धन्वन्तरि जयन्ती, धनतेरस

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।

आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।

धनतेरस

कात्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतेरससमेत भनिने आजका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन छ ।

यमपञ्चकको पहिलो दिन सोमबार साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताए ।रासस