आलेको निर्णयविरुद्ध याक एन्ड यतीको पक्षमा सर्वोच्चको आदेश - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

आलेको निर्णयविरुद्ध याक एन्ड यतीको पक्षमा सर्वोच्चको आदेश



सर्वोच्च अदालतले पाँचतारे याक एन्ड यती होटेल बन्द गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले होटेल बन्द गर्ने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको हो । याक एन्ड यतीले क्यासिनो सञ्चालन गरेबापत रोयल्टी बक्यौता नतिरेको भन्दै पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णय गरी होटेल र रोयल क्यासिनो बन्द गर्ने निर्णय गरेका थिए ।

यस्तै, होटेलको पाँचतारे वर्गीकरण खोस्ने र बैंक खाता पनि रोक्का गर्ने निर्णय गरिएको थियो । होटेल बन्द गर्ने निर्णय कार्यान्वयनमा सहयोग पुर्‍याउन भन्दै गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्राचारसमेत गरिसकेको छ । होटेलको सेवा बन्द गर्ने पर्यटन मन्त्रालयको निर्णय रोक्न याक एन्ड यतीले १ फागुनमा सर्वोच्चमा रिट दायर गरेको थियो ।

सोही रिटमाथि सोमबार सुनुवाइ गर्दै सर्वोच्चले तत्काल होटेल बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न मन्त्रालयलाई अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको आदेशसँगै सरकारले गत शुक्रबार रोक्का गरेको होटेलको बैंक खाता पनि फुकुवा हुनेछ । साथै, सर्वोच्चले रिट निवेदक याक एन्ड यती होटेल र पर्यटन मन्त्रालय, पर्यटन सचिव, पर्यटन विभाग, क्यासिनो अनुगमन समिति, क्यासिनो सञ्चालक गिल्ट इन्भेस्टमेन्ट प्रालिलगायतका विपक्षीलाई छलफलका लागि बोलाएको छ ।

याक एन्ड यतीले २२ पुस ०४८ मा पर्यटन मन्त्रालयबाट क्यासिनोको इजाजतपत्र पाएको थियो । होटेलमा गिल्ट इन्भेस्टमेन्ट कम्पनीले रोयल क्यासिनो सञ्चालन गर्दै आइरहेको थियो । क्यासिनोको रोयल्टी र नवीकरण दस्तुर गरी ४२ करोड २५ लाख बक्यौता रहेको मन्त्रालयको भनाइ छ ।