मध्यरातको वार्तामा पनि बालुवाटार समुहको उस्तै शैली - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

मध्यरातको वार्तामा पनि बालुवाटार समुहको उस्तै शैली



काठमाडौं- पार्टी एकता जोगाउने भन्दै सोमबार राती दरबारमार्गको एउटा पाँच तारे होटलमा दोस्रो पुस्ताका नेताहरुको झण्डै दुई घण्टा छलफल भयो । ‘एकताको प्रयास टुट्न नदिऔं’ भन्ने मूल प्रयासमा उक्त भेटघाट भएको सहभागी एक जना नेताले बताएका छन् ।

छलफलमा बालुवाटारको तर्फबाट नेताहरु सुवास नेम्वाङ,विष्णु पौडेल र प्रदीप ज्ञवाली हुनुहुन्थ्यो भने अर्कोतर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराई पुगेका थिए ।

‘बालुवाटारका साथीहरुको कुरो सुन्दा र लवज बुझ्दा पहिलेभन्दा साँच्चै मिल्न पो खोजेका हुन् कि भन्ने देखिन्थ्यो,’ भेटघाटमा सहभागी नेताको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘कर्णाली, लुम्बिनी,बागमती प्रदेश र पत्रकार महासंघको चुनाव, धारा ७६ (५) को निम्ति शेरबहादुर देउवालाई अघि सारेको विषय र त्यसपछि सर्वोच्चमा मुद्दा हालेको कारणले पनि उनीहरू लचिलो हुन बाध्य भएको हुनसक्छ ।’

बालुवाटारको प्रतिनिधित्व गर्दै सहभागी हुने नेताहरुले ठ्याक्कै छिनालेर कहिल्यै कुरा नगर्ने अर्को पक्षका नेताहरुको बुझाई छ । ‘उहाँहरु जहिले पनि आफूहरुले समेत बालुवाटारमा अनुरोध गर्नुपर्ने शैलीमा प्रस्तुत हुँदै ओलीजीका इच्छा यस्ता छन् भनेर कुरा शुरु गर्नुहुन्छ,’छलफलमा सहभागी अर्का नेताले गरेको टिप्पणी हो यो ।

युवा नेताहरु २०७५ जेठ २ गतेको अवस्थामा आउनुपर्ने पुरानै अडानमा अस्ति पनि प्रस्तुत भएका थिए । त्यसमा पनि नेम्वाङ समूहले हुन्छ, मान्छौं भन्दै अमूर्त कुरा गरेको बिष्टको बुझाइ छ । नेम्वाङ, पौडेल र ज्ञवालीले एकै स्वरमा उक्त विषयमा ‘अँ त्यहि जेठ २ गतेको वरिपरि हो’ भनेको तर, ठ्याक्कै यहि हो भनेर उल्लेख नगरेको स्रोतको दाबी छ ।

छलफलमा अदालतमा परेका मुद्दा र प्रतिनिधिसभा पुनर्स्थापनाको बारेमा भने बालुवाटारको तर्फबाट केही पनि उच्चारण नगरिएको बुझिएको छ । बरु उनीहरूले एकपटक ‘ओलीजी संसद विघटन गर्न चाहनुहुन्नथ्यो तर परिस्थिति त्यसैगरी विकास भयो’ भनेर आफ्नो बचाउ गरेका थिए ।

बिष्ट र भट्टराईले एकता सँधै सम्मानजनक हुनुपर्यो भन्दै आएको बताइन्छ । त्यहि क्रममा अस्ति २ घण्टाजति छलफल भएको हो । ८ बजेदेखि याक एण्ड यती होटलमा दुई पक्ष डेढ घण्टा बसेर छलफल गरेपनि ११ बजेसम्म नेपाल पक्षका युवाहरू मात्रै छुट्टै बसेको र खाना चाँहि घरमै गएर खाएको बताइन्छ ।