देउवा सरकारसँग उपेन्द्र यादव असन्तुष्ट - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

देउवा सरकारसँग उपेन्द्र यादव असन्तुष्ट



काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव शेरबहादुर देउवा सरकारसँग असन्तुष्टि ब्यक्त गरेका छन् । उनले संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको बताएका छन् ।

यादवले सरकारको यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताए । पत्रकारसँग कुरा गर्दै यादवले सरकारसँग असन्तुष्टि भएपनि आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताए। विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिए।

अध्यक्ष यादवले सार्वभौम संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको उल्लेख गर्दै यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताए। वर्तमान संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको बताउँदै उनले राजनीतिक दलहरुबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गरिने धारणा व्यक्त गरे।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको दल वर्तमान गठबन्धनमा नरहेकाले सरकारमा सहभागी हुन नसक्ने दाबी गरे। उनले प्रतिगमनको खतरा रहुञ्जेलसम्म वर्तमान लोकतान्त्रिक गठबन्धन रहने छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत एवं बलियो बनाउने कार्यमा आफ्नो दल सक्रिय रुपमा कार्य गर्ने बताए।

अध्यक्ष यादवले संसद् जोगाउनका लागि पार्टी गठबन्धनमा सहभागी भएको स्पष्ट पार्दै यही गठबन्धनले आगामी निर्वाचन गराउने बताए। उनले बहुदलीय व्यवस्थामा दल फुट्ने र जुटेन कार्य भइरहने चर्चा गर्दै सम्पूर्ण समाजवादीको केन्द्रको रुपमा जनता समाजवादी पार्टी रहेको विचार व्यक्त गरे।