सेनालाई सी जिनपिङको निर्देशन: युद्धको लागि तयार रहनु
एजेन्सी- चिनियाँ राष्ट्रपति सी जिनफिङले आफ्ना सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन् । नयाँ वर्षको अवसरमा देशको सशस्त्र शक्तिलाई आदेश दिँदै चिनियाँ राष्ट्रपति सी ले पूर्णकालिन युद्धका लागि तत्पर रहन निर्देशन दिएका हुन् ।
यस्तो युद्ध कोसँग कहिले हुनेछ वा हुनसक्छ भन्नेमा भने उनले कुनै संकेत नगरेपनि युद्धका लागि तयार रहन निर्देशन दिँदै उनले केहि ठुलै घटनाको संकेत गरेका थिए ।
सन् २०२० मा चीन र भारतबीच सीमावर्ती क्षेत्रमा निकै तनाव भएको थियो । यसैगरी दक्षिणी चिनियाँ सागरमा पनि अमेरिकाको बढ्दो चासोका कारण उसले सैन्य मार्च र परेड पनि गरेको थियो ।
चिनियाँ सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले पिपुल्स लिबरेशन आर्मी पीएलए कुनैपनि समय कामका लागि तयार हुनुपर्ने भन्दै सैन्य क्षेत्रमा उच्च प्रविधि, नयाँ ज्ञान, इन्टरनेट प्रयोगको क्षमता राख्न पनि आदेश दिएको चिनीयाँ संचार माध्यमहरुले जनाएका छन् ।
चिनियाँ राष्ट्रिय सुरक्षा कानून संशोधन गरेर केन्द्रिय सैन्य आयोग सिएमसी को शक्ति बिस्तार गरेलगत्तै सी जिनफिङको यस्तो निर्देशन सार्वजनिक भएको हो । २६ डिसेम्बरमा गरिएको संशोधन एक जनवरीदेखि लागू भइसकेको छ ।
यससँगै सिएमसीको भूमिका बढेको छ भने सैन्य नीति बनाउने लगायतका कामहरु गर्दै आएको स्टेट काउन्सिलको भूमिका कमजोर भएको छ ।