सी चिङफिङ र मोदीबीच भेटवार्ता तय : यस्तो छ तयारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सी चिङफिङ र मोदीबीच भेटवार्ता तय : यस्तो छ तयारी



काठमाडौं – भारत र चीनको सम्बन्ध र अमेरिकाको ब्यापार नीतिले चर्चा कमाएकाबिच चिनियाँ राष्ट्रपति सी चिङफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा दोश्रो भेटवार्ता गर्ने भएका छन् ।

द हिन्दुले जनाएअनुसार असोज २५ मा बनारसमा उनीहरूको  दोस्रो अनाैपचारिक शिखर वार्ता निश्चित भएको छ। बनारस मोदीको निर्वाचन क्षेत्र हो।

चिनियाँ अधिकारीको हवाला दिंदै उक्त पत्रिकाले लेखेको छ चीन र भारतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा अनौपचारिक वार्ता हुन लागेको हो। पहिलो अनौपचारिक शिखर वार्ता गत वर्ष चीनको उहानमा भएको थियो।

गंगा नदीमा नौकविहार गर्दै दुवै नेताबीच अनौपचारिक वार्ता हुने सम्भावना छ। सो अवसरमा आयोजना गरिने अन्य कार्यक्रमहरूलाइ अन्तिम रुप भने दिइएको छैन। दुवै देशका सरकार प्रमुखले गंगामा नौकविहार गर्ने संभावना भने प्रवल छ। चीनको उहानमा पनि दुवैले नेताहरुले गत वर्ष इस्ट लेकमा डेढ घण्टा नौकबिहार गरेका थिए। दोक्लाम सीमामा उत्पन्न तनाब उहान अनौपचारिक शिखर सम्मेलनपछि मथ्थर भएको थियो।

अगस्टमा बेइजिङमा हुने जनता जनताको सम्बन्ध तथा सांस्कृतिक आदान प्रदानसम्बन्धी दुवै देशबीचको संयन्त्रको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुँदैछन्। त्यतिबेला उनले चिनियाँ समकक्षीसँग सीको बनारस यात्राबारे विस्तृत छलफल गर्नेछन्।

कीर्गिजस्तानको बिस्केकमा भएको संघाई कोअपरेसन अर्गनाइजेसन(एससिओ)को बैठकको क्रममा सी र मोदीबीच भएको भेटपछि दुवै देश सम्बन्धलाई नयाँ रुपमा अघि बढाउन अनौपचारिक शिखर सम्मेलनका लागि तयार भएका हुन्।

एशियाका दुई ठूला शक्ति राष्ट्रबीच सीमा विवाद रहँदै आएको छ। त्यसैगरी चीनसँगको बढ्दो व्यापार घाटा, पाकिस्तान र चीनबीचको सम्बन्धजस्ता विषयमा भारतको चासो छ। बेइजिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिम्भ(बिआरआई)मा दिल्ली सहभागी भएको छैन। भारत र अमेरिकाबीच सैन्यसहित सम्बन्धहरु मजबुत हुँदै गएको छ। अमेरिकाले चीनको बढ्दो प्रभावलाई ध्यान राखेर अघि सारेको इन्डो प्यासेफिक स्ट्राटेजीमा भारतलाई मुख्य रणनीति साझेदारको रुपमा लिने गरेको छ।

यो सन्दर्भमा भारत र चीनका सरकार प्रमुखहरूबीचको अनौपचारिक भेटवार्तालाइ महत्वका साथ हेरिएको छ।