सी जिनपिङको विचारधारा राष्ट्रिय पाठ्यक्रममा पढाइने
बीबीसी । चीनमा राष्ट्रपति सी जिनपिङको राजनीतिक विचारधारा राष्ट्रिय पाठ्यक्रममै समावेश गरिने भएको छ । सी जिनपिङको विचार’ नामक यस विषयले युवा र बालबालिकाहरुमा ‘मार्कसिस्ट’ विचारधारा स्थापित गर्न मद्दत गराउने चीनको शिक्षा मन्त्रीले जनाएको छ ।
सो विचारधारा प्रारम्भिक कक्षादेखि युनिभर्सिटी सम्ममा समावेश गराइने भनिएको छ । समाजको विभिन्न क्षेत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका स्थापित गराउने सीको यो नयाँ प्रयास हो ।
शिक्षा मन्त्रालयका अनुसार यसको उद्देश्य समाजवादका निर्माणकर्ता र उत्तराधिकारीहरुलाई नैतिक, बौद्धिक, शारीरिक र सौन्दर्यपूर्ण हिसाबले विकसित गराउनु रहेको छ । साथै यसमा श्रमिक शिक्षालाई पनि मिहिनेतको भाव जगाउन भनेर समावेश गरिएको छ । त्यस्तै राष्ट्रिय सुरक्षा सम्बन्धी शिक्षा पनि यसमा राखिएको छ ।
२०१८ मा चीनको शिर्ष निकायले सी जिनपिङको विचारधारा संविधानमै राखिने घोषणा गरेको थियो । त्यसैबेला देखि चीनका विभिन्न युनिभर्सिटी र युवा राजनीतिक समुहहरुमा यसलाई उल्लेख गरिँदै आएको थियो । तर यो नयाँ नीतिले भने देशव्यापी रुपमा सबै स्तरका विद्यार्थी माझ उनका सोचहरु पुर्याउनेछ ।
ग्लोबल टाइम्सको रिपोर्टमा लेखिएको छ, “प्रारम्भिक विद्यालयहरुमा यो विषय देश, कम्युनिस्ट पार्टी अफ चाइना र समाजवाद प्रतिको प्रेम जगाउनमा केन्द्रित रहनेछ । त्यस्तै माध्यमिक तहमा यसले विद्यार्थीहरुलाई राजनीति सम्बन्धी निर्णय र आफ्नो धारणा प्रस्तुत गर्न सक्ने बनाउनमा मद्दत गर्नेछ । कलेजमा चाहिँ सैद्धान्तिक चिन्तन स्थापित गराउनका लागि यसले जोड दिनेछ । ”
यसका साथै शिक्षा मन्त्रालयले राष्ट्रिय सुरक्षा, पार्टीको नेतृत्व जस्ता विषयहरु प्नि पाठ्यक्रममा समावेश गराउनेबारे काम गरिरहेको बताएको छ ।
चीनका अरु पूर्व नेताहरुको भनाइ पनि तिनका पार्टीको विचारधारामा समावेश गरिएको थियो तर माओ सेतुङ बाहेक कसैको राजनीतिक विचारधारालाई सर्वोत्तम ठहर गरिएको थिएन ।