चीनमा बल्झियो कोरोना : वुहान बन्दैछ बेइजिङ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चीनमा बल्झियो कोरोना : वुहान बन्दैछ बेइजिङ



एजेन्सी- चीनमा फेरि कोरोना संकट देखिन थालेको छ। राजधानी सहरमा कोरोना संक्रमित भेटिन थालेपछि हार्बिन र डालियानसमेत १० सहरले आफ्ना नागरिकलाई बेइजिङ जान निषेध गरेका छन्।

समाचार एजेन्सीका अनुसार हुआजियाङ्गको ठूलो कार बजारलाई पनि बन्द गर्ने तयारी गरिएको छ। यो बेइजिङको नजिकको सहर भएकाले हजारौँ मानिस आउने जाने गर्छन्।

यो सहर उच्च जोखिमयुक्त क्षेत्रमा राखिएको छ। बेइजिङमा पनि जोखिमलाई बढाएर मध्यम बनाइएको छ। समाचार अनुसार राजधानी बेइजिङलाई लिएर सरकार एकदमै सतर्क भएको छ।

यहाँ ४६ हजार मानिसमा कोरोना परीक्षण गरिँदैछ। समाचार अनुसार यी मानिस केही दिनअघि होलसेल बजारमा गएका थिए। जहाँबाट फेरि कोरोना फैलिएको आशंका छ।

कोरोना परीक्षणका लागि बेइजिङमा रातारात २४ वटा परीक्षण केन्द्र स्थापना गरिएको छ। आइतवार साँझसम्म १० हजार ८८१ मानिसको नमुना संकलन गरिएको छ।

सरकारी पत्रिका ग्लोबल टाइम्सको समाचार अनुसार आइतवार बेइजिङमा ३६ जनामा संक्रमण देखियो। तीन दिनमा त्यहाँ ७९ जनामा संक्रमण पुष्टि भएको छ।