सूर्य चिह्नको वैधानिकतामा प्रश्न उठाएर अदालतमा रिट हालिँदै - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

सूर्य चिह्नको वैधानिकतामा प्रश्न उठाएर अदालतमा रिट हालिँदै



नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’को वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट पर्ने भएको छ । सत्तारूढ गठबन्धनमा यसबारे छलफलसमेत भएको बुझिएको छ ।

नेकपा एकीकृत समाजवादीनिकट एक वकिलले हिमालपोस्टसँग भने, ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र वरिसकिएको भए सोको पुनरावलोकन गर्ने निर्णय यसअघि गरिसकेको छ, त्यही निर्णयमा टेकेर हामीलाई सर्वोच्च जान कुनै बाधा पर्दैन ।’

यसअघि आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन माघ २ गते पत्र लेखेको थियो । आयोगले यसबारे एक वर्षअघि नै २०७७ माघ ७ गते निर्णय भएको भन्दै राप्रपालाई गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई विधानमा उल्लेख गर्न भनेको छ ।

आयोगको यो पत्रका आधारमा राप्रपा अदालत जाने तयारी गरेको छ । राप्रपासँगै अन्यले पनि यो मुद्दामा रिट हाल्ने तयारी गरेका हुन् । आयोगको निर्णयको पक्षमा फैसला भएर आदेश भएमा राप्रपाको गाई चिन्ह मात्र नभई एमालेको सूर्य चिन्ह समेत बदर हुने भएको हो ।

स्रोतका अनुसार एमाले र निर्वाचन आयोग दुवैलाई विपक्षी बनाएर केही दिनभित्र सर्वोच्च अदालतमा रिट हालिनेछ ।

अब चुनाव चिन्हको विषयमा अदालतमा अलमल हुने भएकाले पनि प्रतिनिधि सभा चुनाव धकेलिने सम्भावना रहेको बुझिएको छ । अदालतले यसबारे गर्ने निर्णयको ढिलोचाँडोले प्रतिनिधि सभा चुनाव मात्र नभई स्थानीय चुनाव र प्रदेश सभा चुनावको मिति समेत प्रभावित हुने सम्भावना छ ।

राप्रपाको चुनाव चिन्ह गाई राष्ट्रिय जनावर हो । एमालेको चुनाव चिन्ह सूर्य राष्ट्रिय झण्डामा अंकित छ । आयोगले गरेको निर्णय अनुसार अब एमालेको चुनाव चिन्ह समेत पुनरावलोकन गर्नुपर्ने हुन्छ । एमालेले सूर्यको साटो अर्को चुनाव चिन्ह रोज्नुपर्ने अवस्था बन्ने सम्भावना छ ।