विश्वकप: पेरुको ३६ वर्षपछिको पुनरोदय !
पछिल्लो ३६ वर्षमा पहिलो पटक विश्वकप खेल्ने तयारीमा रहेको पेरुले विश्वकप अघिको तयारीमा राम्रो सुरुवात गरेको छ ।
रुसमा जुन १४ देखि सुरु हुने विश्वकप फुटबलको पूर्व तयारी स्वरुप बुधबार बिहान भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुले स्कटल्याण्डमाथि २–० को जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा पेरुको जितमा कुएभाव र फार्फानले गोल गरे । यसअघि सन् १९८२ मा विश्वकप खेलेको पेरुले प्ले अफ मार्फत रुस विश्वकपमा स्थान पक्का गरेको हो । पेरु छनौट हुँदा चिली भने विश्वकपबाट बाहिर रहन बाध्य भयो ।
विश्वकपका लागि पेरु समूह सी मा छ । यो समूहमा अस्ट्रेलिया, फ्रान्स र डेनमार्क पनि छन् ।
यस्तै बुधबार बिहान भएको अर्को खेलमा पहिलो पटक विश्वकप खेल्न लागेको पानामाले नर्दन आएरल्याण्डसँग गोलरहित बराबरी खेलेको छ ।
समूह जी मा रहेको पानामाले समूह चरणमा बेल्जियम, ट्युनिसिया र इंग्ल्याण्डसँग खेल्नु पर्नेछ ।