जनतासंग पुग्न सहयोग गरेकोमा विप्लवले दिए प्रधानमन्त्रीलाई धन्यवाद
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् । उनले आफूहरूमाथि प्रतिवन्ध लगाएर जनतासमक्ष पुग्न सहयोग गरेकोमा धन्यवाद दिएका हुन् ।
विप्लवले पूर्वसहकर्मी एवं गृहमन्त्री रामबहादुर थापा बादलले आफूहरुलाई भूमिगत पार्टी भनेकोमा आपत्ति समेत जनाएका छन् । उनले आफूहरू भूमिगत नभएको बरू जनताको माझमा भएको बताएका छन्।
सोमबार ई–रातो खबरलाई अन्र्तवार्ता दिँदै महासचिव विप्लवले आफूहरु भूमिगत नभएको स्पष्ट पारेका छन् । उनले आफुहरु जनताको माझमा रहेको बताएका हुन् ।
‘गृहमन्त्रीले भूमिगत भने । जुन कुरा हामीले भनेकै छैन । हामी भूमिगत पार्टी भनेको छैन । हामी जनताको बीचमा छौं,’ उनले भने, ‘प्रतिस्पर्धामा छौं । खुलामञ्चमै आउन तयार छौं ।’
उनले पार्टीमाथि लगाइएको प्रतिबन्ध आफूहरुका लागि अवसर र चुनौती दुवै रहेको बताएका छन् ।
‘पार्टीमाथि प्रतिबन्ध लगाइएको छ । हामीलाई यो अवसर र चुनौती दुवै हो । प्रतिबन्धले हामीलाई जनतामा फर्किनका लागि जनतासँग सेवा गर्ने, काम गर्ने अवसर दिएको छ’, उनले भनेका छन्, ‘यसका लागि केपी ओली र सरकारलाई धन्यवाद दिनुपर्छ । प्रतिबन्ध लागेपछि पार्टीलाई असर गर्यो । यसमा हामीले चित्त दुखाई गर्नु आवश्यक छैन् ।’
त्यस्तै उनले राज्यले आफ्ना मागहरु पूरा गरेर वार्ता गर्न सकिने बताएका छन् । महासचिव विप्लवले राज्यले जनताका असन्तुष्टी सम्बोधन गर्दै जनता खुसी हुने काम गरे आफूहरु वार्तामा आउन तयार रहेको बताएका छन् ।
उनले सरकारले प्रतिवन्ध लगाएपछि पनि पार्टीका नेता सुदर्शनलगायतसँग पुगेर राज्यले वार्ता गर्न प्रस्ताव गरिरहेको बताएका छन् ।
‘प्रतिवन्धपछि पनि सुदर्शनलगायत कमरेडसँग पुगेर वार्ता गरौं भनेका छन् । तर वार्तालाई षड्यन्त्रका रूपमा प्रयोग गर्न भएन नि,’ उनले भनेका छन्, ‘राज्य कस्तो देखिन्छ भने सिके राउतजस्तो बनाउने रे । नेपाल कम्युनिष्ट पार्टी त्यस्तो हुन्न ।’
महासचिव विप्लवले भारत र चीनबीचमा देखिएका सीमा विवाद हल गर्न सरकारलाई आग्रह गरेका छन् । महासचिव विप्लवले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एनसीसी)को पक्षमा कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओली ‘घुडा धसेर’ लागि परेको बताएका छन् । उनले एनसीसीको सम्बन्ध सैन्य गठबन्धनसँग जोडिएको उल्लेख गर्दै स्वयम् अमेरिकी मन्त्रीहरुले नै स्वीकार गरेको बताए ।