वाइडबडी प्रकरण :सुगतरत्न कंसाकार निलम्बन ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वाइडबडी प्रकरण :सुगतरत्न कंसाकार निलम्बन !



काठमाडौं । वाइडबडी विमान खरीद प्रकरणमा मुछिएका पर्यटन सचिव केशव देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बनमा पर्ने भएका छन् ।

वाइडबडी विमान खरीद प्रकरणमा भ्रष्टाचार भएको छानबिन गर्न गठित लेखा समितिको उपसमितिले बनाएको प्रतिवेदनका आधारणमा देवकोटा र कंसाकारलाई निलम्बन सिफारिस गर्न लागिएको हो । ‘सोमबारको लेखा समिति बैठकमा प्रतिवेदनमाथि छलफल हुने र प्रतिवेदनका आधारमा तत्काल देवकोटा र कंसारकारलाई निलम्बन गर्न सिफारिस गरिनेछ,’ लेखासमितिका एक सदस्यले भने, ‘वाइड बडी विमान प्रकरणमा देवकोटा र कंसाकारको प्रत्यक्ष संलग्नता देखिएकाले निलम्बनकाे सिफारिस गरिन लागिएको हो ।’

ती सदस्यका अनुसार, पर्यटन मन्त्री रवीन्द्र अधिकारीबारे पनि लेखा समितिले धारणा बनाएको छ । ‘विमान खरीद प्रकरणमा पर्यटनमन्त्री अधिकारीको पनि गम्भीर त्रुटि देखिएकाले सोही अनुसार प्रक्रिया अगाडि बढाउन लेखा समितिले सिफारिस गर्ने छ ।’

राईलाई सफाइ

यस्तै, सोमबार हुने लेखासमितिका बैठकले प्रतिवेदनमा दोषी बनाइएका सचिव प्रेम राईलाई भने सफाइ दिने सम्भावना छ । ‘सचिव प्रेम राईका हकमा उपसमितिको प्रतिवेदन नै त्रुटिपूर्ण रहेको ठहर छ,’ एक सदस्यले भने, ‘राईलाई सफाइ दिइने सोच बनेको छ ।’

दुई पूर्वमन्त्रीमाथि छानबिन

यस्तै, लेखासमितिले पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही र जितेन्द्र नारायण देव तथा सचिव शंकर अधिकारीको हकमा छानबिनपछि ठहरे बमोजिम हुने गरी कारबाहीका लागि सिफारिस गर्ने भएको छ । वाइड बडी विमान भ्रष्टाचार प्रकरणलाई मिहीनसँग छानबिन गर्न लेखासमितिले मुद्दा अख्तियारमा पठाउने भएको छ । यो घटनाले विमान खरीद प्रकरणमा दोषीलाई कारबाहीका लागि बाटो खुलेको छ । अख्तियारले मुद्दा अनुसन्धान गर्दा अरु प्रभावकारी हुने आशा गरिएको छ ।