वाइडबडी खरिदमा भष्टाचार भएको प्रमाणित गर्न चुनौती

काठमाडाैं – नेपाल वायुसेवा निगमले वाइडबडी खरिदमा आर्थिक चलखेल नभएको स्पष्ट पारेको छ ।
वाइडबडी खरिद गर्दा आर्थिक चलखेल भएको, सिधै कम्पनीसँग खरिद नगरेर बिचौलिया कम्पनीसँग खरिद गरिएको भन्दै संसदीय समितिहरुले छलफलको विषय बनाइरहेका बेला निगमले भने विमान खरिदमा कुनै पनि आर्थिक चलखेल नभएको दावी गरेको हो ।
प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरेर विधिसम्मत विमान खरिद गरिएको बताएका छन् ।
उनले शत प्रतिशत आर्थिक लेनदेन नभएको भन्दै भष्टाचार भएको भए प्रमाणित गर्न चुनौती दिए ।
महाप्रबन्धक कंसाकारले विमानको तौलको बारेमा खरिद सम्झौतामा उल्लेख नभएको दावी गरे । २ सय ४२ टनको विमान किन्ने सम्झौता गरेर किन २ सय ३० टनको मात्रै किनेको भन्ने समिति सदस्यहरुको जिज्ञासामा उनले विमानको तौलबारे उल्लेख नै नभएको बताए ।
उनले भने २ सय ४२ टन भनेर २ सय ३० टन को किन्यो भन्ने कुरा झूट हो ।
उनले विधिसम्मत विमान खरिदका लागि बोलपत्र आव्हान गरिएकाले आपूर्तिकर्तालाई बिचौलिया भन्न नमिल्ने दावी पनि गरे । उनले महालेखापरीक्षकको प्रतिवेदनलाई गलत नभने पनि विमान खरिद प्रक्रियामा भने कुनै गलत कार्य नभएको जिकिर गरे ।
समिति सदस्यहरुले महालेखापरीक्षकको प्रतिवेदनले पनि विमान खरिद सम्झौता कानुनसम्मत नभएको देखाएको र सिधै वाइडवडी निर्माण कम्पनीसँग नकिनेर बिचौलिया कम्पनीसँग किन किनेको भनी प्रश्न गरेका थिए ।

