वाइड बडी खरिद काण्ड: तानिए पर्यटनमन्त्री - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

वाइड बडी खरिद काण्ड: तानिए पर्यटनमन्त्री



काठमाडौं  : नेपाल वायुसेवा निगमले भिœयाएका दुईवटा वाइड बडी जहाज खरिदमा भएको अनियमितता संसद्को सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । समितिको एक साताअघि बसेको बैठकले वाइड बडी जहाज खरिदसम्बन्धी कागजात मगाउने निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा पर्यटनले पठाएको कागजात यसअघिको बैठकमा समिति सदस्यलाई बाँडिएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

शाहका अनुसार सोही कागजात अध्ययन गरेपछि वायुसेवा निगमको वाइड बडी जहाज खरिदमा अनियमितता भएको आशंका गरिएकाले थप छानबिन गर्नुपर्ने आवश्यकता सांसदले बिहीबारको बैठकमा उठाएका छन् । यो विषय महालेखा परीक्षकको प्रतिवेदनमा पनि उल्लेख छ । महालेखाले उठाएको विषयमा थप बुझ्नुपर्ने आवश्यकता देखिएकाले शुक्रबार बस्ने समितिको बैठकमा महालेखा परीक्षकलाई आमन्त्रण गरिएको छ । महालेखाले निगमको उक्त वाइड बडी जहाज खरिदमा औंल्याएको बेरूजुलाई स्पष्ट पार्नेछ ।

यो जहाज खरिद गर्दा भएको कमजोरीमा थप छानबिन गर्न र निष्कर्षमा पु¥याउनकै लागि लेखा समितिले थप कागजात पनि पर्यटन मन्त्रालयमार्फत वायुसेवा निगमबाट मागेको शाहले जानकारी दिए ।

‘महालेखाले प्रतिवेदनमा उल्लेख गरेकाले सोही विषयमा केन्द्रित भएर लेखा समितिले अध्ययन गर्ने भएको छ’, शाहले भने । पहिले आवश्यक प्रक्रिया र के भएको रहेछ भन्ने विषयमा छलफल गर्ने र आवश्यकताअनुसार वायुसेवा निगम पदाधिकारीलाई पनि छलफलमा बोलाइने शाहले बताए ।

महालेखाले बेरुजु सार्वजनिक गर्दा स्पष्ट उल्लेख गरेकाले वाइड बडीको छानबिन हुनुपर्ने माग आफूहरूले गरेको समितिका सदस्य तथा सांसद राजेन्द्रकुमार केसीको भनाइ छ । मन्त्रालयले समितिलाई वाइड बडी जहाजको टेन्डर डकुमेन्ट, न्यारो बडीदेखि वाइड बडी खरिदसम्मको इतिहास पठाएको छ । ‘यो विषयमाथि समितिका सदस्यले अध्ययन गरेका र थप डकुमेन्ट आवश्यक भएको निष्कर्षसहित वाइड बडी छानबिन गर्नुपर्ने माग गरिएको हो’, केसीले भने ।

वायुसेवा निगमले बाइड बडी खरिदमा कुन जहाज किनेको, कतिमा किनेको, निर्माता कम्पनीमार्फत नकिनेर किन एजेन्ट खडा गरेको, एजेन्टमा पनि नक्कली खडा गरिएको भन्ने विषय उठेको छ । सोही विषयमा थप स्पष्ट पार्दै जाने र पहिले महालेखाको प्रतिवेदनमाथि छलफल गरेपछि थप छलफल गर्दै जाने विषय उठेको छ ।

समितिले वाइड बडी खरिद प्रकरणमा भएको अनियमिततामा थप अध्ययन गर्न माग गरिएका कागजातसँगै समितिले थप विवरण पनि मागिसकेको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए । ‘समिति सदस्य सांसदले उठाएको विषय र माग गरेको डकुमेन्ट समितिमा पठाइदिन यसअघि पत्र पठाइएको थियो’, उनले भने ।

मन्त्रालयले पहिलो चरणमा पठाएको डकुमेन्ट अपुरो भएको निष्कर्षसहित थप विवरण पनि माग भएको जानकारी पाण्डेले दिए । समितिको बिहीबारको बैठकमा सांसदहरूले वाइड बडी खरिदमा भएको अनियमितता विषयमा सम्बन्धित निकायका अधिकारीसँग नै आवश्यक छलफल गर्नुपर्ने मागसमेत गरेका छन् । समितिको बैठकमा बोल्ने अन्य सदस्य सांसद हृदयेश त्रिपाठी, विरोध खतिवडा, प्रेमबहादुर आले, पुष्पाकुमारी कर्ण, धर्मशीला चापागाईंलगायतले वाइड बडी विमान खरिद अनियमितता, बेरुजु फछ्र्योटलगायत विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् ।

वायुसेवा निगमले एयरबस कम्पनीबाट सीधै दुईवटा वाइड बडी विमान नकिनेर बीचमा दलाल खडा गर्नु, सेकेन्डह्यान्ड जहाज भनेर नयाँ खरिद गर्न कागजात मिलाउनु र तोकिएको समयभन्दा ढिलो गरेर एजेन्टमार्फत जहाज किन्नु नै अनियमितता भएकाले छानबिनको घेरामा परेको छ ।

निगमले टेन्डर पार्ने एउटा, सम्झौता गर्ने अर्को, जहाज बेच्ने अर्कै गरेर फरकफरक कम्पनी देखाएको छ । निगमले जहाज किनेको कम्पनी नै नक्कली सावित भइसकेको छ । निगमले २४ अर्ब रुपैयाँ किनेको दुईवटा वाइड बडीमा भएको अनियमिततालाई छर्लंग पार्ने गरी अनुसन्धान हुनुपर्ने तर्क पनि सांसदले उठाएका छन् ।

अन्नपुर्णपोष्टमा यो खबर छ