डब्ल्यूएचओले भन्यो: ओमिक्रोनले विश्वमा ‘खतरनाक सुनामी’ ल्याउँदै छ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

डब्ल्यूएचओले भन्यो: ओमिक्रोनले विश्वमा ‘खतरनाक सुनामी’ ल्याउँदै छ



काठमाडौं । डेल्टा र ओमिक्रोन भेरियन्टले विश्वमा कोभिड–१९ को ‘खतरनाक सुनामी’ निम्त्याइरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले बताएका छन् ।

अमेरिका र युरोपमा कोरोनाका पुनः नयाँ संक्रमितहरू बढ्दै गइरहेको समयमा डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससको यस्तो भनाइ आएको हो ।

फ्रान्समा लगातार दोस्रो दिन दुई लाख आठ हजारजनामा संक्रमण पुष्टि भएको छ । पूरा युरोपमा कुनै देशमा एक दिनमा पुष्टि भएको यो कीर्तिमानी संक्रमण संख्या हो ।

जोन होप्किन्स विश्वविद्यालयको तथ्यांकानुसार अमेरिकामा पछिल्लो साता दैनिक औसत दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको थियो ।

डेनमार्क, पोर्चुगल, बेलायत र अष्ट्रेलियामा पनि संक्रमणको कीर्तिमानी तथ्यांक सार्वजनिक भएको छ ।

ओमिक्रोन धेरै देशहरूमा तीव्र गतिमा फैलिएको छ । अध्ययनहरूका अनुसार ओमिक्रोन डेल्टाको तुलनामा ‘हल्का’ छ, तर धेरै संक्रामक छ ।

फ्रान्सेली स्वास्थ्यमन्त्री ओलिभियर भेरानले पत्रकारहरूसित ओमिक्रोनको कुरा गर्दा अब ‘छाल’को कुरा नगर्ने भन्दै यो ‘ज्वारभाटाको छाल’ भएको बताएका छन् ।

यद्यपि, डा. टेड्रोसले विश्वमा तीव्र गतिमा फैलिइरहेको संक्रमणको कारक डेल्टा र ओमिक्रोन दुवै भएको चेतावनी दिएका छन् ।