डब्लूएचओले बल्ल भन्यो : मास्क नलगाउँदा कोरोना सर्ने रहेछ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

डब्लूएचओले बल्ल भन्यो : मास्क नलगाउँदा कोरोना सर्ने रहेछ



काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा नयाँ निर्देशिका जारी गरेको छ।

मास्कले पनि कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबै व्यक्तिलाई यसका बिरामी नजिक, सार्वजनिक स्थान तथा भिडभाडमा जाँदा अनिवार्य मास्क लगाउन सुझाव दिएको हो।

यसअघि डब्लूएचओका विशेषज्ञ मास्कले कोरोना भाइरस रोक्छ कि रोक्दैन भन्नेमा दुविधामा परेका थिए। यसैकारण उनीहरूले सर्वसाधारण सबैले मास्क लगाउनुपर्छ भन्न सकेका थिएनन्।

तर अहिले कोरोना सर्ने नयाँ तरिका पत्ता लागेको भन्दै कोरोना संक्रमण सर्ने जोखिम स्थानमा जाँदा सबैले अनिवार्य मास्क लगाउनुपर्ने निर्देशिका जारी गरेको हो।

डब्लूएचओका अनुसार कोरोनाका लक्षण देखिनुअघि पनि व्यक्ति संक्रमित भइसकेको हुन सक्ने अर्थात् संक्रमित भइसकेर पनि कसैमा कुनै लक्षण नदेखिने तथ्य पत्ता लागेको हो।

यसले गर्दा सबैसँग सबै ठाउँमा शारीरिक दूरी कायम गर्न नसकिने भएकाले स्वस्थ व्यक्तिमा कोरोना भाइरस सर्न सक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबैलाई अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरेको हो।

जस्तैः सवारीसाधनमा यात्रा गर्दा, बजार जाँदा अर्थात् घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्छ, जसले संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँदा गर्दा निकाल्ने थुकका छिटाबाट बचाउन मद्दत गर्छ।

यस्ता स्थानमा जाँदा साधारण तथा घरमै बनाइएकाे मास्क पनि लगाउन सकिने तर ६० वर्ष माथि उमेर भएकाले अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने डब्लूएचओकाे नयाँ निर्देशिकामा उल्लेख छ।