डब्लुएचओ भन्छ: ब्राजिल र अफ्रिका नयाँ 'इपिसेन्टर', अवस्था जटिल - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

डब्लुएचओ भन्छ: ब्राजिल र अफ्रिका नयाँ ‘इपिसेन्टर’, अवस्था जटिल



एजेन्सी- विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले शुक्रबार दक्षिण अमेरिका कोरोना भाइरस महामारीको नयाँ ‘इपिसेन्टर’ बनेको जनाएको छ।

महामारीबाट सो महादेशमा ब्राजिल सबैभन्दा धेरै प्रभावित बनेको उसको भनाइ छ।

यसैगरी डब्लुएचओले अफ्रिकी महादेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अन्यत्र भन्दा तुलनात्मक रुपले कम देखिएपनि महादेशका केही मुलुकमा कोरोनाका केसहरू बढिरहेको जनाएको छ।

‘अफ्रिकामा आज कोभिड-१९ महामारी एउटा मानक विन्दुमा पुगेको छ। त्यहाँ १ लाख जनामा संक्रमण पुष्टि भएको छ। १४ साता पहिले पहिलो संक्रमण पुष्टि भएयता यो भाइरस हाल यहाँका सबै मुलुकमा फैलिसकेको छ’ शुक्रबार जारी गरेको एक विज्ञप्तिमा डब्लुएचओले भनेको छ।

कोरोनाका कारण अफ्रिका महादेशमा ३ हजार १ सय जनाको मृत्यु भएको उसको तथ्यांक छ।

‘अहिले त कोरोना भाइरसले अफ्रिकामा सानो पहिरो ल्याएको छ र अन्यत्र धेरै विनाश गरेको भएपनि यो महादेश धेरै ठूलो संख्याको मृत्युबाट बचिरहेको छ’, डब्लुएचओका अफ्रिका निर्देशक डा. मात्सोदिसो मोइतीले भनिन्।

‘हामी आत्मसंयममा पर्नु हुँदैन किनभने हाम्रो स्वास्थ्य प्रणाली कमजोर छ र आकस्मिक वृद्धिको सामना गर्न कम सक्षम छ’, उनले भनिन्।

हाल अफ्रिकाका आधाभन्दा बढी मुलुकमा कोरोना सामुदायिकरुपमा फैलिसकेको डब्लुएचओले बताएको छ।

यसैगरी दक्षिण अमेरिकाको अवस्था अझ भयावह भएको डब्लुएचओका उच्च तहका आपतकालिन विशेषज्ञ डा. माइक रेनले बताएका छन्।

‘एकप्रकारले भन्नुपर्दा दक्षिण अमेरिकी महादेश यो रोगको नयाँ इपिसेन्टर बनिसकेको छ’, उनले भने।

संक्रमणबाट ब्राजिल सबैभन्दा बढी प्रभावित बनेको छ र त्यहाँका सरकारी अधिकारीले विशेषज्ञहरूको चेतावनीका बाबजुत कोरोनाको उपचारका लागि मलेरिया विरुद्ध प्रयोग हाइड्रोक्सीक्लोरोक्वाइन प्रयोग गर्ने अनुमति दिएका छन्।

डा. रायनले चिकित्सकिय प्रयोगमा यो औषधिले काम गर्ने कुनै प्रमाण नभएको दोहोर्‍याए।

९ अफ्रिकी मुलुकमा कोरोना संक्रमण गत साता ५० प्रतिशतको बढेको देखाएको छ भने अन्य मुलुकमा भने घटेको वा स्थिर रहेको रायनको भनाइ छ।

अफ्रिकामा कोरोनाबाट कम मानिसहरूको मृत्यु पछाडी त्यहाँको युवा जनसंख्यालाई कारक मानिएको छ किनकी त्यहाँको आधा जनसंख्या १८ वर्ष वा सो भन्दा कम रहेको रायनले बताए।

यसैगरी उनले कोरोना अफ्रिकामा एउटा अन्तरालपछि फैलिन सक्नेमा चिन्ता व्यक्त गरेका छन्।