वेस्ट इन्डिजका कप्तानले भने : सेमिफाइनल पुग्ने आस छैन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वेस्ट इन्डिजका कप्तानले भने : सेमिफाइनल पुग्ने आस छैन



एजेन्सी — वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले सोमबार बंगलादेशसँगको ७ विकेट हारसँगै आफ्नो टोलीका लागि विश्वकप सेमिफाइनल यात्रा अत्यत्नै कठिन भएको प्रतिक्रिया दिएका छन् । विश्वकप इतिहासमै ठूलो लक्ष्य पछ्याएर बंगलादेशले जित हासिल गरेको थियो ।

वेस्ट इन्डिजले आफ्नो ५ मध्ये ३ खेलमा पराजय बेहोरेको छ । १० टोलीसम्मिलित प्रतियोगिताको राउन्ड रोविन लिग चरणका ४ खेल बाँकी रहँदा सेमिफाइनल प्रवेशको सम्भावना निकै कमजोर रहेको होल्डरको भनाइ छ । ‘यो समय हाम्रा लागि निकै कठिन छ, आशा पनि मरिसक्यो, तर असम्भव छैन । हामीले अब हरेक खेल फाइनल सोचेर खेल्नुपर्छ,’ होल्डरले भने, ‘हामीले बाँकी सबै खेललाई एउटा अवसरका रूपमा सदुपयोग गर्नुपर्छ ।’

वेस्ट इन्डिजको अबको दुई खेल न्युजिल्यान्ड र भारतसँग छ । दुवै उत्कृष्ट लयमा छन् । प्रतियोगितामा रहिराख्न यो दुवै खेलमा वेस्ट इन्डिज विजयी हुनु अनिवार्य छ । ‘यदि हामी सेमिफाइनलमा पुग्न चाहन्छौं भने हामीले सर्वश्रेष्ठ टिमलाई हराउनुपर्छ,’ होल्डरले भने, ‘हामी आफैं पछि हटिसकेका छौं र बलिङमा हामीले लय भेट्टाउनु आवश्यक छ ।’

‘हामीले ब्याटिङमा पनि अझै धेरै रन बनाउनुपर्छ, किनभने हाम्रो टिमबाट अहिलेसम्म कसैले पनि शतक प्रहार गरेका छैनन्,’ कप्तान होल्डरले भने, ‘मेरो मिचारमा पिचको अवस्था हेरेर हामीले ३ सय ६५ देखि ३ सय ७५ सम्म स्कोर बनाउन सक्थ्यौं तर ४०/५० रन कम बनायौं ।’