रुटको शतक, इंग्ल्यान्डको जित र वेस्ट इन्डिजको बेहाल - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

रुटको शतक, इंग्ल्यान्डको जित र वेस्ट इन्डिजको बेहाल



एजेन्सी – ओपनर जो रुटले सानदार शतक प्रहार गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोली इंग्ल्यान्डले सानदार जित निकालेको छ ।

शुक्रबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डले तेस्रो जित निकालेको हो । २ सय १३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३३.१ ओभरमा २ विकेट क्षतिमा पुरा गर्यो । उसका लागि रुटले ९४ बलमा ११ चौका सहित १ सय रनमा अविजित रहे । बेन स्टोक्स १० रनमा नट आउट रहे ।

रुटले ३३ ओभरको चौथो बलमा ओशन थोमसलाई १ रन बटुल्दै ९३ बलमा शतक प्रहार पुरा गरेका थिए । यो रुटको वान डे करियरको १६ औं शतक हो । त्यस्तै रुटले यस विश्वकपमा दोस्रो शतक प्रहार गरेका हुन् । रुटले यस अघि पाकिस्तानसँग शतक प्रहार गरेका थिए ।
दोस्रो विकेट क्रिस वोक्स र जो रुटले १ सय ४ रनको शतकीय साझेदारी सहज जित पक्का गरेका थिए । ३२ ओभरको पाँचौ क्याच आउट हुनुअघि ५४ बलमा ४ चौका सहित ४० रनको योगदान दिए ।

त्यस अघि ओपनर जो रुट र जोनी बेयरस्टो पहिलो विकेटका लागि १४.४ ओभरमा ९५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । क्याच आउट हुनुअघि ४६ बलमा ७ चौका सहित ४५ रन जोडे । ओपनर जोसन रोय चोटका कारण ओपनिङ जोडीमा मैदाउन उत्रेका थिएनन् । वेस्ट इन्डिजका लागि शैनन गेब्रियलले २ विकेट लिए ।

त्यसि अघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४४.४ ओभरमा अल आउट हुँदै २ सय १२ रनमा समेटिएको थियो । उसका लागि मध्यक्रमका युवा खेलाडी निकोलस पुरनले सर्वाधिक ६३ रनको योगदान दिए । जोफ्रा आर्चरले ४० ओभरको पाँचौ बलमा विकेटकीपर जस बटलरबाट क्याच आउट गराउनुअघि पुरनले ७८ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

तेस्रो ओभरको अन्तिम बलमा क्रिस वोक्सले ओपनर इभिन लुईसलाई २ रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका रुपमा आउट हुनु अघि अर्का ओपनर क्रिस गेलले ४१ बलमा ५ चौका र १ छक्का सहित ३६ रनको योगदान दिए । गेललाई १३ ओभरको अन्तिम बलमा लियाम प्लन्केटले जोनी बेयरस्टोबाट क्याच गराएका थिए । लगत्तै दुईबल पछि विकेटकीपर शाई होपलाई मार्क उडले ११ रनमा एलवी डब्लू आउट गर्दै इंग्ल्यान्डले वेस्ट इन्डिजलाई दबाबमा राख्न सफल भएको थियो । चौथोे विकेटका लागि निकोलस पुरन र शिमरोन हिटमायरले ८९ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ उकासेका थिए ।

तर ३० ओभरको पाँचौ बलमा बिरलै बलिङमा उत्रने जो रुटले हिटमायरलाई ३९ रनमा आफैं क्याच लिँदै यी दुईबीचको साझेदारी तोडेपछि इंग्ल्यान्ड पुन खेलमा फर्किएको थियो । हिटमायरले ४८ बलमा ४ चौका प्रहार गरे । रुटलेनै ३२ ओभरको अन्तिम बलमा कप्तान जोसन होल्डरलाई ९ रनमा आफैं क्याच लिदै पेभिलिएन फर्काए ।

निकै आसा र ठूलो भरोसा गरिएका आन्द्रे रसेललाई मार्क उडले ३७ ओभरको दोस्रो बलमा २१ रनमा क्याच आउट गराएपछि वेस्ट इन्डिजको ठूलो योगफलको संभावना लगभग सकिएको थियो । रसेलले १६ बलमा १ चौका र २ छक्का प्रहार गरे । कार्लोस बर्थवेट १४ रनमा आउट भए । पुछारका तीन ब्याट्सम्यान ओशन थोमस,शिल्डन कर्टेल र शैनन ग्रब्रियलले खाता खोल्न सकेनन् ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले ९ ओभरमा १ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिए । त्यस्तै मार्क उडले पनि ६.४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । जो रुटले २,लियाम प्लन्केट र क्रिस वोक्सको नाममा १-१ विकेट रह्यो ।

यो जितसँगै घरेलु टोली इंग्ल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले पाँचौ खेल आगमी मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।