वेस्ट इन्डिजलाई न्युजिल्यान्डले नजित्दा खतरा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

वेस्ट इन्डिजलाई न्युजिल्यान्डले नजित्दा खतरा



लण्डन । जारी एकदिवसीय विश्वकपमा न्युजिल्यान्डले पहिलो खेलबाटै सशक्त प्रदर्शन गर्दै आइरहेको छ । न्युजिल्यान्ड प्रतियोगितामा अहिलेसम्म अपराजित दुईमध्ये (भारतपछि) एक टोली हो ।

न्युजिल्यान्डले आफ्नो प्रत्येक खेलमा बल, ब्याट र फिल्डिङ तीनै पक्षमा उच्चस्तरको प्रदर्शन गर्दै आइरहेको छ । विश्वकपमा वेस्ट इन्डिजको यात्रा योभन्दा फरक छ । वेस्ट इन्डिजले अहिलेसम्म खेलेको पाँचमध्ये मात्रै एक खेलमा जित हात पारेको छ । तीन खेलमा पराजय बेहोरेको छ ।

टोलीमा राम्रा खेलाडीको उपस्थिति हुँदा पनि वेस्ट इन्डिजले एउटा टोलीको रुपमा प्रदर्शन गर्न सकिरहेको छैन । वेस्ट इन्डिज खेलमा राम्रो अवस्थामा हुँदासमेत कुनै न कुनै अवस्थामा जितबाट चुक्ने गरेको छ ।

यही अवस्थामा शनिबार हुने दुईमध्ये एक खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डको सामना गर्दै छ । जारी प्रतियोगितामा न्युजिल्यान्डको प्रदर्शन र आफ्नो अवस्थाका कारण वेस्ट इन्डिज दबाबमा देखिएको छ ।

विश्वकप इतिहासमा पनि न्युजिल्यान्ड वेस्ट इन्डिजभन्दा बलियो देखिएको छ । विश्वकपमा अहिलेसम्म यी दुई टोलीले सात खेलमा प्रतिस्पर्धा गर्दा न्युजिल्यान्ड चार खेलमा विजयी भएको छ । वेस्ट इन्डिजले तीन खेलमा जित हात पारेको छ ।

एकदिवसीय क्रिकेटमा भने वेस्ट इन्डिजको विगत राम्रो छ । अहिलेसम्म एकदिवसीय क्रिकेटमा ६४ पटक प्रतिस्पर्धा गर्दा वेस्ट इन्डिजले ३० खेलमा जित हात पारेको छ । न्युजिल्यान्ड २७ खेलमा विजयी छ । सात खेल अनिर्णित छ ।

विश्वकपअन्तर्गत आजै हुने दोस्रो खेलमा भारत र अफगानिस्तान भिड्दै छन् । भारत प्रतियोगितामा चार खेल खेल्दा अपराजित टोली हो । अफगानिस्तानले भने पाँच खेल खेल्दा अहिलेसम्म जित हात पार्न सकेको छैन ।