वेस्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै : यसकारण रोचक - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

वेस्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै : यसकारण रोचक



एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधिको दाबेदार घरेलु टोली इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि साउथह्याप्टनमा सुरु हुने छ । इंग्ल्यान्ड तेस्रो र वेस्ट इन्डिज दोस्रो जितको खोजिमा छन् ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गरेको इंग्ल्यान्ड दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले स्तब्ध भएको थियो । तेस्रो खेलमा भने इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै बंगलादेशमाथि १ सय ६ रनको जित आत्मासात गरेको थियो । बंगलादेशविरुद्ध इंग्ल्यान्डले ३ सय ८६ रन बनाएको थियो । जसमा ओपनर जेसन रोयले १ सय ५३ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दा जस बटलरले आक्रमक ६४ रन जोडेका थिए । बटलरले त्यस अघि पाकिस्तानविरुद्ध शतक पनि प्रहार गरेका थिए । इंग्ल्यान्डका सबै ब्याट्सम्यान लयमा देखिन्छन् । रोय र बटलर घातक बन्न सक्छन् ।

आजको खेलमा जेसन रोय, जोनी बेयरस्टो, जो रुट, इओन मोर्गिन, जस बटलरले ठूलो इनिङ खेल्न सक्छन् । बंगलादेशविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका जोफ्रा आर्चर उसका प्रमुख बलिङ हतियार हुन् । त्यस्तै मार्क उड, बेन स्टोक्स, लियाम प्लेयान्केटको प्रर्दशन उत्कृष्ट छ । चौथो स्थानमा रहेको इंग्ल्यान्ड आजको खेलमा विजयी भए दोस्रो स्थानमा उक्लिने छ ।

यता वेस्ट इन्डिजपनि अप्रत्यासित नतिजा निकाल्ने दाउमा छ । पाकिस्तानलाई ७ विकेटले स्तब्ध पारेको वेस्ट इन्डिज अष्ट्रेलियासँग १५ रनले पराजित भएको थियो । दक्षिण अफ्रिकासँग भने वर्षाको कारण अंक बाड्नु पर्यो । वेस्ट इन्डिजका शिल्डन कट्रेलले राम्रो प्रर्दशन गरेका छन् । त्यस्तै ओशन थोमस, आन्द्रे रसेल, कार्लोस ब्रेथवेटको पनि प्रर्दशन उत्कृष्ट छ ।

ओपनर क्रिस गेल, शाई होप, आन्द्रे रसेल, जेसन होल्डर, निकोलस पुरन, शिम्रोन हिटमायर जस्ता विश्फोटक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिज इंग्ल्यान्डमाथि आश्चर्यजनक नतिजा निकाल्ने दाउमा छ ।

आजको खेलमा विश्फोटक ब्याट्सम्यान आन्द्रे रसेल टोलीमा फर्किने वा नफर्किने अन्यौल छ । चोटका कारण रसेललाई दक्षिण अफ्रिकासँगको खेलमा आराम दिईएको थियो । वेस्ट इन्डिज र इंग्ल्यान्डबीच हालसम्म १ सय १ वान डे खेल भएको छ । जसमा इंग्ल्यान्ड ५१ खेलमा विजयी हुँदा ४४ खेलमा पराजित भएको छ । ६ खेल नतिजाविहिन छ ।